सिरहा। अवैध रुपमा ग्राभेल उत्खन्न गरिरहेका बेला सशस्त्र प्रहरी बलले सिरहाको चोहर्वाबाट दुईवटा टिपर र एउटा जेसीबी नियन्त्रणमा लिएको छ ।
सिरहाको नरहा गाउँपालिका–३ चोहर्वामा अवैध रुपमा रातिको समयमा ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसीबी, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिपर सशस्त्र प्रहरी गोलबजारको टोलीले नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा राति चोहर्वास्थित वन क्षेत्र नजिकको जग्गाबाट ग्राभेल उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले सोमबार राति ११ बजे जेसीबी र टिपर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहले जानकारी दिए ।
नियन्त्रणमा लिएको जेसीबी र टिपरलाई कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाइएको सिंहले जानकारी दिए । यसअघि गत फागुन २९ गते जिल्ला समन्वय समिति सिरहाको अनुगमन टोलीले सोही स्थानबाट ग्राभेल उत्खननमा प्रयोग गरिएका तीनवटा स्काभेटर नियन्त्रणमा लिएको थियो ।
गोलबार नगरपालिका–९ र नरहा गाउँपालिका–३ स्थित चोहर्वा क्षेत्रबाट ४० फिटभन्दा गहिरो खाल्डो खनी अवैध रुपमा ग्राभेल उत्खनन् हुँदै आएको छ ।
खानी दर्ता, उत्खनन्, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने जिम्मेवारी स्थानीय तहको हो । तर नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले आफ्नो गाउँपालिकामा अहिलेसम्म कुनै पनि खानी दर्ता नभएको जानकारी दिए । ‘अवैध उत्खनन् भएको हामीलाई जानकारी छैन,’ उनले भने ‘अवैध उत्खनन् भएको पाए कारबाही गर्छौं ।’ कान्तिपुरबाट