काठमाडौं। आगामी वैशाखमा हुने आठौं संस्करणको ऊर्जा सम्मेलन २०२३ (पावर समिट) मा विद्युत खरिदकर्ता भारतीय कम्पनीसँग पिपिएको समझदारीमा हस्ताक्षर गरिने भएको छ।
सम्मेलनको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनमा नेपालको विद्युत खरिद गर्ने भारतीय खरिदकर्ता कम्पनी र निजी जलविद्युत कम्पनीहरूबीच प्रत्यक्ष विद्युत खरिद सम्झौता (पिपिए) का लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जानकारी दिएको हो।
वैशाख ५ र ६ गते का लागि तय भएको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको इपानले जनाएको छ।
सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । २ दिने सम्मेलनमा नवीकरणीय ऊर्जाको विकास र बजार विस्तारका लागि अन्य सम्झौता र समझदारीहरूमा पनि हस्ताक्षर हुनेछ बताइएको छ। सम्मेलन देशमा उत्पादन हुने विद्युतको बजार विस्तारमा कोशेढुंगा साबित र दक्षिण एसियाको लगानी जुटाउने सम्बन्धि ‘साउथ एसियन फोरम अन इनर्जी इन्भेष्टमेन्ट’ प्रतिवेदन सार्वजनिक गरिने बताएको छ ।
सम्मेलनमा १५ वटा सत्र सञ्चालन गरिनेछ । सम्मेलनमा लगानी बोर्ड नेपाल र निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका जलविद्युत परियोजना प्रदर्शनीमा राखिने इपानका उपाध्यक्ष आशिष गर्गले बताए। प्रदर्शनीमा राखिने परियोजनाबारे स्वदेशी विदेशी लगानीकर्ताले सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने उनले बताए ।
सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पदाधिकारी तथा दक्षिण एसियाली देशका नेताहरूको पनि सहभागीता रहनेछ । उद्घाटन सत्रमा भारत, बंगलादेश, भुटान र श्रीलंकाका ऊर्जा मन्त्रीहरूलाई पनि सहभागीताका लागि आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्मेलनमा विश्वका ३० भन्दा बढी देशका ३ सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिसहित नेपालबाट सरकारका उच्च पदस्थ पदाधिकारी, विद्युत व्यापार कम्पनीका प्रतिनिधि, ऊर्जा उत्पादकहरू, लगानी गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, प्रसारण तथा वितरण कम्पनीका प्रतिनिधिलगायत गरी ८ सय जनाभन्दा बढीको सहभागिता रहनेछ ।