संखुवासभा। खाँदबारीका इन्द्रकिसान दाहालको २०४५ सालमा १० रोपनीभन्दा बढी जग्गा सरकारले अधिग्रहण गर्यो । उनले दिएको जग्गामा झण्डै १५ वर्ष पछि कच्ची सडक पनि बन्यो । दुःखसुख सवारीसाधन चल्न थाल्यो । २०७० मा त्यो सडक कालोपत्र भयो । तर अहिलेसम्म यो सडकको मालपोत भने दाहालले तिर्दै छन् ।
पटकपटक लगत कट्टा गर्न माग गर्दा पनि स्थानीय प्रशासन, मालपोत, नापी डिभिजन सडक मौन बस्यो । बल्लतल्ल अहिले आएर खाँदबारी नगरपालिकाको अगुवाइमा सडकको लगत कट्टा सुरु भएको छ । सरकारी जग्गा भए पनि ३४ वर्ष सम्म मालपोत बुझाएका दाहालले अब भने त्राण महसुस गरेका छन् ।
‘पटकपटक लगत कट्टाका कुरा उठायौं, कसैले टेरेनन्,’ उनले भने,‘ कतिले मुआब्जा लिएको जग्गा धेरै जनालाई बिक्री पनि गरिसकेका छन् ।’ सडकको दायाँबायाँ १५ मिटरका दरले सडक छुट्याउन खोजेकाले अहिलेसम्म लगत कट्टा हुन नसकेको दाहालले बताए । खाँदबारी नगर प्रमुख महेश थपलियाका अनुसार २०४५ मा जसले, जति मुआब्जा बुझेको छ, त्यहीअनुसार लगत कट्टाको काम थालिएको हो ।
‘हामी पहिले वितरण गरेको मुआब्जाअनुसार जग्गा छुट्याउँछौं,’ उनले भने, ‘त्यो १५ मिटर पनि हुन सक्छ, ५० मिटर पनि हुन सक्छ ।’ जग्गा छुट्याएर एकोहोरो सडक चौडा पारेर दोहोरो बनाउने योजनामा रहेको थपलियाले बताए । यो सडक उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत पर्छ । उक्त राजमार्गअन्तर्गतको तुम्लिङटार खाँदबारी छ्याङकुटी सडकको लगत कट्टा साढे तीन दशकपछि सुरु भए पनि स्थानीय खुसी भएको उनले बताए ।
‘लगत कट्टा नहुँदा स्थानीयले सडकको क्षेत्राधिकारभित्र पर्ने जग्गाको मालपोत तिर्दै आएका थिए,’थपलियाले भने, ‘अब यो समस्याको समाधान हुने भयो ।’ केही दिनमै लगत कट्टाको काम सकेर नापी कार्यालयमा छुट्याउने पनि उनले बताए । ‘लगत कट्टापछि सडकका दायाँबायाँ बनेका अवैध संरचना भत्काउने छौं,’ उनले भने,‘ त्यस पछि सडक ठूलो हुनेछ ।’
नगरपालिकाका अनुसार खाँदबारी बजार आसपास सडकका जग्गामा लगत कट्टा नहुँदा अवैध रूपमा अस्थायी संरचना निर्माण भइरहेको छ । यसले नगरको सौन्दर्य गुमेको छ । ‘अलपत्र बनेको हाम्रो खाँदबारी, राम्रो खाँदबारी’ बनाउने सुन्दर योजना लगत कट्टापछि सुरु हुनेछ,’ नगर प्रमुख थपलियाले भने, ‘लगत कट्टा लामो समयसम्म नहुँदा सडकको जग्गा कति हो भन्ने पनि यकिन छैन ।’
अरुण तेस्रो जलविद्युत् आयोजनालाई लक्षित गरेर सडक बनाउन २०४५ मै मुआब्जा दिइएको थियो । तर सडकले चर्चेको जग्गाको लगत भने अहिलेसम्म कट्टा गरिएको थिएन । सडक ऐनअनुसार राजमार्गको ६२ मिटर दायाँबायाँ भौतिक संरचना बनाउन पाइँदैन । त्यस्तो जग्गा सडकको क्षेत्राधिकारभित्र पर्छ । संखुवासभाको खाँदबारी किमाथांकाअन्तर्गत तुम्लिङटारबाट छ्याङकुटीसम्म २५ किलोमिटर सडक बनेको १५ वर्ष भइसकेको छ ।
कोशी राजमार्गको यो खण्ड निर्माण हुनु १७ वर्ष पहिले नै स्थानीयलाई मुआब्जा दिइएको खाँदबारीका जीवनाथ खनालले बताए । तुम्लिङटार खाँदबारी सडकखण्ड कालोपत्र भइसकेको छ भने खाँदबारीको लभिड हिलबाट छ्याङकुटीसम्मको सडक कच्ची नै छ । ‘उतिबेला अरुण तेस्रो आयोजना नबनेपछि सडक डेढ दशकपछि मात्र निर्माण गरियो,’ उनले भने, ‘खाँदबारी नगरपालिका तथा नापी, मालपोत र डिभिजन सडक कार्यालय तुम्लिङटारले लगत कट्टा गर्न ५ वर्षअघि तुम्लिङटारबाट छ्याङकुटीसम्म नापजाँच गरे पनि काम भएन ।’
नगरपालिकाले त्यसको प्राविधिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाइसके पनि अहिलेसम्म सडकको क्षेत्राधिकारभित्र पर्ने जग्गा छुट्याइएको छैन । विवाद आएको खण्डमा प्रशासनले विशेष नापी टोली ल्याएर लगत कट्टाको काम टुंग्याउने बताएको छ । मुआब्जा दिएको तीन दशकभन्दा बढी र सडक बनेको डेढ दशक नाघिसक्दा पनि लगत कट्टा नगरिनुले सरकारी संयन्त्रमा कुन हदसम्मको ढिलासुस्ती छ भन्ने सतहमा आएको खनाल बताउँछन् ।कान्तिपुरबाट