दोलखा। दोलखाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहमध्ये तीनवटाको कार्यालय भवन अझै निर्माण भएका छैन।
स्थानीय तहमा निर्वाचित प्रतिनिधि आएको छ वर्ष हुनै लाग्दा पनि तीन स्तानीय तहमध्ये केही जग्गा अभाव र केही विवादका कारण प्रशासकीय भवन निर्माण गर्न नसकेका हुन्। कालिञ्चोक, मेलुङ र तामाकोशी गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेका हुन्।
स्वास्थ्य चौकी भवनबाट सेवा प्रदान गर्दै आएको कालिञ्चोक गाउँपालिकामा सहमति जुट्न नसक्दा प्रशासनिक भवन निर्माण हुन सकेको छैन। भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मेलुङ गाउँपालिकाले पनि यसपालि जग्गा प्राप्ति गरेको छ भने प्रशासनिक भवन निर्माण सुरु गर्न १५ लाख रुपियाँ छुट्याएको छ। तामाकोशी गाउँपालिकाले भने जग्गा प्राप्त गर्न नै सकेको छैन तर तामाकोशीका सातवटै वडा कार्यालय भवन निर्माण भइसकेका छन्।
छवटा स्थानीय तहको भने कार्यालय भवन निर्माण भइसकेको छ। वैतेश्वर गाउँपालिकामा दाताबाट प्राप्त जग्गामा दुई करोड ८५ लाख रुपियाँमा भवन निर्माण भएको छ। उत्तरी बिगु गाउँपालिकामा छ करोड रुपियाँमा दुईवटा भवन निर्माण भएको छ।
जिरी नगरपालिकाको प्रशासनिक भवन दुई करोड ७५ लाख रुपियाँमा निर्माण भएको छ। साथै वडा कार्यालय भवन निर्माण भइसकेको जिरीका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो।
शैलुङ गाउँपालिकाले डेढ करोड रुपियाँ लागतमा प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह गरिरहेको छ। यस्तै गौरीशङ्कर गाउँपालिकामा सात करोड रुपियाँमा प्रशासनिक भवन निर्माण भइसकेको छ। गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष श्यामसुन्दर तामाङले वडा नंं. २ र ९ मा जग्गा अभाव र सहमति हुन नसकेकाले भाडा तिर्नु परेको जानकारी दिनुभयो।
सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिकाको आफ्नै भवन छ। नगरपालिकाका इन्जिनियर सुरेश राउतले भन्नुभयो, “वडा नं। ८ ले साबिकको गाविस भवन र वडा नं। ९ ले सामुदायिक भवन प्रयोग गरिरहेका छन्।” गोरखापत्रबाट