काठमाडौं। पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनीमा पर्ने कान्द्रा नदीमा १४ वर्षपछि पुलको दुई धारमा कडी जोडिएको छ । भजनी नगरपालिका वडा नं. ५ ठेकीमा कान्द्रा नदीमा पुल निर्माण हुन थालेको १४ वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो ।
हुलाकी सडक आयोजना कार्यालय धनगढीले चालु आर्थिक वर्षको अन्तसम्म सो पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ । आयोजना कार्यालयका प्रमुख सविन जोशीले पुलको ९० प्रतिशत काम सम्पन्न भएको बताए । सिमेन्ट र छडको अभावमा काम ढिलो भइरहेको उनको भनाइ छ । उनले पुलमा डण्डी हाल्न र पुल दुवैतिर फिडिङ गरी ढलान गर्न मात्रै बाँकी रहेको बताए ।
२०६६ जेठ ३१ गते तीन करोड ४५ लाख २० हजार रुपैयाँको लागत सम्झौतामा दुई वर्षको निर्माण अवधिसहित लामा शेर्पा जेभीले सो पुल निर्माणको ठेक्का लिएको थियो । तर, पुलको डिजाइन र लोकेसन परिवर्तन गरेर २०६८ मा सोही निर्माण कम्पनीसँग ४ करोड लागतमा निर्माण सम्पन्न गर्ने गरी अर्को सम्झौता भएको थियो । निर्माण कम्पनीले पुलको पिलर र दुवैतर्फ एक–एक वटा स्ल्याब राखेर पुल अलपत्र छोडेको थियो ।
कोभिड महामारी र डिजाइन परिवर्तनको कारणले पुल निर्माण ढिलो भएको आयोजना कार्यालय प्रमुख जोशीले बताए । उनले आयोजना कार्यालयले लामा शेर्पा जेभीसँग सम्झौता तोडेर नयाँ टेण्डर गर्ने तयारी गरिरहेको बेला नेपाल सरकारले म्याद सकिएका सबै निर्माण कम्पनीको म्यादएक वर्ष थप्ने निर्णय गरेपछि आउने असास मसान्तसम्म काम सक्ने गरी लामा शेर्पा जेभीले काम गरेको जानकारी दिए ।
हुलाकी सडक आयोजना कार्यालयका पूर्वप्रमुख पदम मडैले फाउण्डेशनको डिजाइन परिवर्तन गर्न साढे चार वर्ष लागेको बताए । उनले ०७२ मा आएर बल्ल नयाँ डिजाइन स्वीकृत भएपछि निर्माण कम्पनीले काम सुरु गरेको जानकारी दिए । उनले पछि गएर ठेकदारले राम्रोसँग काम नगरिदिएकोले पुल निर्माण धेरै ढिलो भएको बताए ।
ठेकदारले शुरुमा लापरबाही गरे पनि अहिले काम तिव्र गतिमा भइरहेको बताउँदै आयोजना कार्यालय प्रमुख जोशीले जेठसम्म पुलबाट गाडी गुड्ने दाबी गरे । चार करोडकै लागतमा निर्माण कम्पनीले पुल निर्माण गरिरहेको उनले बताए ।
कान्द्रामा पुल बन्ने आश बोकेका स्थानीयले पुल बन्छ भन्ने आशा नै मारिसकेको बेला पुलको निर्माण सम्पन्न हुन थालेपछि खुशी व्यक्त गरेका छन् । भजनी नगरपालिका वडा नम्बर ५ का जीवन चौधरीले पैसा तिरेर साँघु तर्नुपर्ने दिन सकिन लागेकोमा खुशी लागेको बताए । उनले प्रत्येक पटक पालिका केन्द्र भजनी जानुपर्दा १० रुपैयाँ तिर्नुपर्ने र वर्षामा नाउमा नदी पार गर्नुपर्ने बाध्यता अबको वर्षामा नआउनेमा आशावादी भएको सुनाए ।
सो नदीको विभिन्न ठाउँमा साँघु बनाउन र वर्षामा नाउ चलाउन भजनी नगरपालिकाले ठेक्का लगाउने गरेको छ । भजनी नगरपालिकाले कान्द्रा नदीको पाँच ठाउँमा साँघु लगाउन ठेक्का आह्वान गर्छ । ठेकेदारले साँघु तरेको एकतर्फी भाडा प्रतिव्यक्ति १०, साइकलको २०, मोटरसाइकलको ५० र अटोको एक सय रुपैयाँ लिने गरेका छन् ।
साँघुबाट नदी तर्दा पैसा तिर्न पर्नुका साथै सुरक्षित पनि नरहेको स्थानीय मानबहादुर साउँदले बताए । भजनी नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ८ नागरिकले कामका लागि भजनी जाँदा र फर्कंदा शुल्क तिर्नुपर्छ । कारोबार दैनिकबाट