काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोसी र ब्रह्मायणी नदीबाट ९१ मेगावाटका तीन विद्युत् आयोजना निर्माण सुरु भएको छ। जुगल गाउँपालिकाको तेम्बाथानमा दुई आयोजना निर्माण गरिने छ। यसका लागि विद्युत् खरिद सम्झौता भइसकेको छ। निर्माणको चरण पनि सुरु भइसकेको आयोजनाहरुले जनाएको छ।
शैलुङ पावर कम्पनी प्रालिले ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजना बनाइरहेको छ। भोटेकोसी गाउँपालिकामा अढाई दशकअघि बनेको ४५ मेगावाटको अपर भोटेकोसी आयोजनाको पावर हाउसबाट निस्केको पानी प्रयोग गरेर उक्त नयाँ आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्षले जानकारी दिएका छन्।
सो आयोजनाको विद्युत् खरिद सम्झौता एक वर्षअघि नै भइसकेको छ भने लागत करिब ८ देखि ९ अर्ब लाग्ने अनुमान रहेको छ। भोटेकोसीको पानी करिब तीन किमि सुरुङबाट स्थानीय चाकुमा निर्माण हुने अन्डरग्राउन्ड पावरहाउसमा प्रवेश गराइनेछ। आयोजनाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर निर्माण सुरु गरेको हो। आयोजना निर्माणको लागि बैंक ऋणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डमा पर्ने सो आयोजनाका लागि प्रवेशमार्ग निर्माण, जग्गा अधिग्रहणलगायत काममा झन्झट नरहेको साथै आयोजनाको निर्माण सहज हुने अनुमान गरिएको आयोजना कम्पनीको भनाइ रहेको छ। त्यस्तै ब्रह्मायणी हाइड्रोपावर कम्पनीले ३६र५२ मेगावाटको ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण थालेको छ। जुगल गाउँपालिकास्थित हिमाली भेग तेम्बाथान बस्तीको अर्को साइटमा निर्माण हुने यो आयोजनाको लागत करिब ७ अर्ब छ।
यस आयोजनामा पनि विद्युत् खरिद सम्झौता भइसकेको छ। यस आयोजनाको सुरुङ ६ किमिको हुनेछ साथै आयोजनाको हेड ५ सय ५२ मिटर हुने र यसले वर्षेनी करिब एक अर्ब २२ करोडको विद्युत् बिक्री गर्ने यस आयोजना कम्पनीका अध्यक्ष भरत पराजुलीले जानकारी दिएका छन्। त्यस्तै इन्टिग्रेटेड हाइड्रो फन्ड नेपाल प्रालिले १५र१५ मेगावाटको अप्पर ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण गर्दै छ। जुगल हिमालको फेदीमा निर्माण गरिने सो आयोजनाका लागि करिब तीन अर्ब लगानी हुने अनुमान गरिएको छ।
लगानबेसीमा निर्माण हुने सो आयोजनामा जुगल हिमालबाट बग्ने नाम्या मसाल खोलाको पानीबाट विद्युत् उत्पादन गरिने हाइड्रो फन्डका अध्यक्ष पराजुलीले बताएका छन्। यस आयोजना निर्माण पश्चात बर्सेनि ५२ करोडको विद्युत् बिक्री गर्ने लक्ष्य राखिएको छ। हाल यस आयोजनामा पुग्ने प्रवेशमार्ग निर्माण भइरहेको छ। काठमाडौंबाट ११० किमि दूरीमा पर्ने दुवै आयोजना निर्माणका लागि संस्थापक सेयर २५ र बैंक ऋण ७५ प्रतिशत रहने पराजुलीले जानकारी दिएका छन्।