काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका लागि अर्थ मन्त्रालयले सरोकारवालासँग सुझाव मागेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै बजेटसँग सम्बन्धित सुझावहरु आगामी वैशाख १५ गतेभित्र मन्त्रालयमा पठाउन आग्रह गरेको हो।
सूचनामा विभिन्न संघसंस्था, बृद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकलाई बजेटसँग सम्बन्धित सुझाव पठाउन भनिएको छ । मन्त्रालयको वेबसाइट तथा इमेलमार्फत सुझाव पठाउन सकिने छ ।
सूचनामा भनिएको छ, ‘आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु आगामी बैशाख १५ गतेभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिन हुन विभिन्न संघसंस्था, बृद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकमा अनुरोध गरिन्छ।’