चितवन। सौराहा, चितवन राष्ट्रिय निकुञ्ज छिर्ने १० प्रवेशद्वारमध्ये मुख्य नाका हो । चितवन निकुञ्ज घुम्न आउनेमध्ये अधिकांश पर्यटक यही बाटो भएर सफारीमा जाने गर्छन् । सौराहा आडको राप्ती किनारमा उभिएर हेर्दा निकुञ्ज जाँदै र फर्कंदै गरेका पर्यटक मात्रै हैन, बगरमा मजाले घाम ताप्दै गरेका मगर गोही र अति संकटापन्न वन्यजीव घडियाल गोहीसमेत देखिन्छन् । राप्ती खोला बस्तीमा छिर्ने आशंकाले त्यहाँ लगाएको तटबन्धन बलियो बनाउने काम बर्सेनि हुने गर्छ । पछिल्लो समय यो तटबन्ध थप टिकाउ बनाउन नौलो प्रविधि उपयोग भएको छ ।
नेपालमै पहिलो पटक प्रयोगमा आएको यो प्रविधिले बाँध भत्काएर बर्खेभेल बस्तीमा नजाने आशा धेरैले लिएका छन् । तर बस्ती जोगाउन प्रयोग भएको यो कामले वन्य जीवमा के असर पर्छ त्यसको जवाफ भने छैन । निकुञ्जकै सिमाना भएर बग्ने खोला जहाँ वन्यजन्तु ओहोरदोहोर गर्ने, चर्ने र खेल्ने रमाउने गर्दछन् त्यहाँ कुनै संरचना बनाउँदा पर्ने वातावरणीय असर र प्रभाव के हो यसका लागि कुनै अध्ययन नै नगरी काम भएको हुँदा जवाफ पाउन गाह्रो भएको हो । ‘फेब्रिक फर्म कंक्रिट म्याट्रेस’ प्रयोग गरेर ललितपुर पुल्चोकस्थित जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले त्यहाँ तटबन्धन गरेको हो ।
नेपालमा हुने तटबन्धनमा प्रायः जीआई तारको ग्याबियन जाली बुनेर त्यो जालीमा ढुंगा भर्दै बाध लगाउने काम हुन्छ । यसमा फ्रान्समा बनेको फेब्रिक म्याट्रेस ल्याएर त्यसबाट बनेको पोकाहरूमा कंक्रिट भरेर किनारमा जमाउने काम गरेको निर्माण व्यवसायी कुमार आचार्यले बताए । झन्डै तीन सय मिटर लामो तटबन्धनका लागि ६ करोड ९८ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका वरिष्ठ डिभिजनल इन्जिनियर तथा प्रवक्ता जेविन ताम्राकारका अनुसार यस्तो प्रविधि नेपालमा पहिलो पटक प्रयोग भएको हो । ‘भारत, भुटान, बंगलादेश र युरोपतिर यो प्रविधि चलनमा छ । नेपालमा पहिलो पटक प्रयोगमा आएको छ । हाम्रो देशमा यो प्रविधि उपयुक्त हुन्छ कि हुन्न भनेर जाँच्न पनि सौराहामा पहिलो पटक काम गरेका हौं,’ ताम्राकारले भने । तारजाली बुनेर गरिने तटबन्धनभन्दा यो झन्डै तीन गुणा महँगो छ । तर टिकाउ धेरै हुने भएका कारणले कालान्तरमा खर्च कम पर्ने उनले बताए । नेपाल जस्तो भूगोलमा बाढी नियन्त्रणका लागि यो उपयोगी प्रविधि हो वा हैन भन्ने अनुसन्धान गर्न निकुञ्ज आडकै क्षेत्र रोज्दा निकुञ्जमा पर्ने असरका बारेमा केही अध्ययन नै भएको छैन । काम गर्नका लागि निकुञ्जसँग स्वीकृति भने लिएको ताम्राकारले जानकारी दिए ।
‘जहाँ काम भएको छ त्यो मध्यवर्ती क्षेत्रमा पर्छ । मध्यवर्ती क्षेत्रमा बाटो निर्माण र नदी व्यवस्थापनको काम गर्दा १० किलोमिटरभन्दा कम क्षेत्रको कामका लागि ईआईए तथा आईई गर्नुपर्दैन,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने । राप्ती खोला चितवन राष्ट्रिय निकुञ्जको सीमा नदी हो । खोलातर्फकै भित्तोमा नौलो प्रविधिको तटबन्धन भएको छ । खोलाकै पानीसम्म तटबन्धको अंश पुगेको छ । ‘घडियाल जस्तो संकटमा परेको जीव त्यहीं बस्ने गर्दछ । घडियाललाई बालुवा र माटो चाहिन्छ । तर बालुवा र माटो छोपेर फेब्रिक म्याट्रेसले तटबन्धन गरिएको छ । पर्यावरणका दृष्टिले निकै संवेदनशील क्षेत्रमा नौलो काम गर्दा, संरचना बनाउँदा त्यसबाट पर्ने असर त अध्ययन हुनै पर्दथ्यो,’ संरक्षणकर्मी तथा रत्ननगर नगरपालिका–६ का सदस्य वीरेन्द्र महतोले भने । कान्तिपुरबाट