काठमाडौं। नेपालकै आकर्षक पर्यटकीय गन्तव्य रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडकको पिना–मुगु खण्ड अलपत्र अवस्थामा पुगेको छ । निर्माणको जिम्मा पाएको ठेकेदार नै पछिल्लो समय सम्पर्कविहीन भएपछि सडक निर्माण बीचमै अलपत्र परेको हो ।
नाग्म–गमगडी सडकको पिना–मुगु खण्ड निर्माणको ठेक्का (शंकर माली निर्माण सेवा)ले पाएको थियो । हालसम्म करिब ८५ प्रतिशत काम पनि भइसकेको छ । तर बाँकी १५ प्रतिशतको मुख्य सडक ग्राभेल, पर्खाल तथा नाला निर्माणलगायतका अन्य काम अलपत्र परेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी तथा इन्जिनियर चित्र चौलागाईंले बताए ।
(शंकर माली निर्माण सेवा) ठेकेदार धनबहादुर कार्की पछिल्लो समय सम्पर्कविहीन भएपछि पिना–मुगु सडकको निर्माणकार्य अलपत्र परेको हो । आव २०७६।०७७ बाट निर्माण सुरु भई चालू आव ०७९ पुस २५ गतेभित्र काम सक्नुपर्ने सम्झौता हो । तर निर्माण व्यवसायी ठेकेदार धनबहादुर कार्की सम्पर्कमा नहुँदा काम अलपत्र परेको छ भने म्याद थप पनि भएको छैन ।
इन्जिनियर चौलागाईंले भने, “शंकर माली निर्माण सेवाको मुख्य ठेकेदार धनबहादुर कार्की नै सम्पर्कविहीन छन् । स्थानीय पेटी ठेकेदारले कामवापत पैसा नपाएको बुझिएको छ । पिना–मुगुसम्मको २१ किलोमिटर सडकको ग्राभेल, वाल तथा नाला निर्माणको काम बाँकी नै छ । काम पुराना नभई अर्को ठेक्का लगाउने अवस्था छैन । ठेकेदार सम्पर्कमा नआउँदा समस्या भयो ।”
पिनादेखि मुगु खण्डको २१ किमि सडक निर्माणको कुल लागत पाँच करोड ५० लाख रहेकोमा हालसम्म चार करोड ९० लाख भुक्तानी लिइसकेको छ । बाँकी ६० लाख बरारबको काम ठेकेदारले अलपत्र पारेको छ । आव २०७६।०७७ देखि निर्माण सुरु भएको उक्त खण्डको काम ठेकेदारको ढिलासुस्तीले समयमै सम्पन्न हुन नसक्दा नयाँ ठेक्का लगाउन नसकिएको इन्जिनियर चौलागाईंले जानकारी दिए ।
सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र विष्टले पिना–मुुगु खण्डको बाँकी काम चाडै सुरु गर्न अन्तिम ताकेता दिएको बताए । उनले भने, “निर्माण व्यवसायी ‘व्यावसायिक’ र जिम्मेवार नबन्दा जुम्लाका धेरै सडक योजना अधुरै रहेको पाइयो । पिना–मुुगु खण्डको (शंकर माली निर्माण सेवा) लाई काम सुरु गर्न ताकेता दिएका छौ । सम्पर्कमा छैन । जसका कारण लक्ष्यअनुसार नाग्म–गमगडी सडकको निर्माण तथा स्तरवृद्धिको काम हुन सकेको छैन ।”
सडक डिभिजन जुम्लाको डिभिजन प्रमुखका रूपमा भर्खर सरुवा भई आएका विष्ट भन्छन्, “सडक पूर्वाधार निर्माण र स्तरवृद्धिको कामलाई गति दिन निर्माण व्यवसायी जिम्मेवार नभएसम्म सम्भव छैन । त्यसैले पहिलो चरणमा निर्माण व्यवसायीसँग सहजीकरण तथा परामर्श गर्ने र अन्तिमसम्म पनि नमाने कालोसूचीमा सिफारिस गरेर पनि रोकिएको काम अघि बढाउने लक्ष्य छ । सबैको साथ सहयोगको खाँचो छ ।”
पिना–मुगु सडक खण्डको शंकर माली निर्माण सेवालाई अधुरो काम अघि बढाउन अन्तिम ताकेता दिइएको छ । अब पनि सम्पर्कमा नआएमा सार्वजनिक सूचना निकाल्ने, बैंक जमानत जफत गर्ने, ठेक्का तोड्ने र कालोसूचीका लागि सिफारिस गर्ने प्रमुख विष्टको चेतावनी छ । ९३ किमी दूरी रहेको नाग्म–गमगडी सडकको निर्माण तथा स्तरवृद्धिको काम ६ वटा प्याकेजमा भइरहेको छ । अन्य प्योकजका काम भने भइरहेका छन् ।
कर्णालीका निर्माण व्यवसायी जिम्मेवार बनेको खण्डमा रारा आउने पर्यटकले केही वर्षमा पूरै नाग्म–गमगडी सडक कालोपत्रे भएको देख्ने छन् भने अन्य सडक योजना पनि सम्झौताअनुसार निर्धारित समयमै सकिने अपेक्षा छ । तर निर्माण व्यवसायी गैरजिम्मेवार भएका कारण सडक पूर्वाधार विकासका नाममा ढिलासुस्ती हुने गरेको छ ।
जनशक्ति अभाव नै चुनौती
सडक डिभिजन जुम्लाको जुम्लासहित मुगु कालिकोट जिल्लाको कार्यक्षेत्र छ । तीन जिल्लाको सडक विकासको काम गर्ने डिभिजन कार्यालय अपर्याप्त प्राविधिक जनशक्तिकै बीच चल्न बाध्य छ । १२ जना सबइन्जिनियरको दरबन्दी रहेकोमा हाल चारजना मात्रै कार्यरत छन् भने पाँच जना इन्जिनियरको दरबन्दी रहेकामा दुईजना कार्यरत छन् । कार्यरत दुई जनामध्ये एक जना इन्जिनियरको सरुवासमेत भइसकेको छ ।
पर्याप्त प्राविधिक जनशक्ति नभई नहुने डिभिजन कार्यालय ६ जना कर्मचारीका भरमा चल्न बाध्य छ । एकातिर जिम्मेवार र सबै प्रक्रिया बुझेका निर्माण व्यवसायी नहुनु र अर्कोतिर कार्यालयमा प्राविधिक जनशक्ति निकै कम हुँदा काममा कठिनाइ भइरकेको प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार फिल्ड भिजिट तथा सुपरभिजनका लागि सवारी साधनको समेत अभाव छ ।
प्राविधिक जनशक्ति आपूर्तिका लागि पकटपकट विभागमा माग गर्दा पनि सुनुवाइ हुन सकेको छैन । कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक, जुम्ला डोल्पा–मनाङ–मुस्ताङ सडक, रणनीतिक सडक, निर्वाचन क्षेत्र सडकलगायत अन्य सडक योजनाको काम दुर्गत गतिमा गर्ने लक्ष्य छ । तर त्यसका लागि निर्माण व्यवसायीको कार्यसम्पादनबारे सहजीकरणमा जोड दिनुपर्ने प्रमुख विष्टको भनाइ छ । कारोबार दैनिकबाट