काठमाडौं। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये ८ वटा जिल्लामा विमानस्थल निर्माणको प्रक्रिया चलिरहेको छ। अहिले सञ्चालनमा रहेका ३ विमानस्थलबाहेक अन्य विमानस्थल निर्माण प्रक्रियामा छन्। प्रदेशमा गौतमबुद्ध विमानस्थल भैरहवा, नेपालगञ्ज विमानस्थल बाँके र दाङको टरीगाउँ विमानस्थल चालु अवस्थामा रहेका छन्। हाल प्रदेशका अन्य जिल्ला गुल्मी, अर्घाखाँची, प्युठानलगायतमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।
धेरैजसो जिल्लामा ‘ईआईए’को काम हुँदैछ। कतिपय जिल्लामा रनवे तथा पिचको काम भइरहेको छ भने केही जिल्लामा सम्भावना अध्ययन भइरहेको छ। खासगरी पहाडका प्रत्येक जिल्लामा विमानस्थल निर्माणको माग उठिरहेको छ। जसका कारण अधिकांश जिल्लामा विमानस्थल निर्माण प्रक्रिया चलिरहेको छ। केही जिल्लाहरुमा भने विगतमा सञ्चालन भएर हाल थन्किएका विमानस्थल पुनः सञ्चालनमा ल्याउने माग भइरहेको छ।
गत निर्वाचनमा अर्घाखाँचीबाट माओवादीका उम्मेदवार बनेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले अर्घामा विमानस्थल बनाउने र यहाँ विमानस्थल बनेपछि जिल्लाका विभिन्न ठाउँमा पर्यटन विकासमा समेत ठुलो टेवा पुग्ने बताएको सन्धिखर्क नगरपालिका–२ का एक स्थानीयले बताएका छन्। पूर्व मन्त्री प्रदिप ज्ञवालीले गुल्मीको रेङ्गगा विमानस्थल पनि छिटै निर्माणको काम सकेर सञ्चालनमा ल्याउनु पर्ने पटक पटक बताउँदै आएका छन्। त्यस्तै काँग्रेस नेता चन्द्र भण्डारीले पनि गुल्मीको विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने जानकारी गराउँदै आएका छन्।
गुल्मी र अर्घाखाँचीमा जस्तै विमानस्थल निर्माण अध्ययन भएका अन्य जिल्ला प्युठान, पाल्पा लगायतका जिल्लामा पनि नेताहरुले चुनावको बेलामा विमानस्थल निर्माणको आश्वासन दिने गरेका छन्। २०७० सालमा प्युठान र बर्दियाबाट एकै पटक उम्मेद्वार बनेका वामदेव गौतमले प्युठानमा छिट्टै विमानस्थल बनाउने बताएका थिए। उनले प्युठानवासी माझ गरेको बाचा अचेल बिर्सिएको स्थानीयको गुनासो रहेको छ।
त्यस्तै रोल्पाको वर्षौदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने चर्चा पनि नेताहरुले गर्दै आएका छन्। लुम्बिनी प्रदेशका केही जिल्लामा बनेका विमानस्थल पुराना छन्। दाडको टरीगाउँ विमानस्थल पनि वर्षौंसम्म बन्द रहेर एक/डेढ वर्ष अघि सञ्चालनमा आएको हो। भएका विमानस्थलहरु पनि राम्रो नचलेको अवस्थामा नेताहरुका फोर्सले कतिपय ठाउँमा विमानस्थल निर्माण र सञ्चालनको लागि दबाब आउने गरेको नेपाल नगारिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियरले जानकारी दिएका छन्।
विमानस्थलको सम्भाव्यता अध्ययनका लागि करोडौँ रकम खर्च हुने गरेको छ र त्यसलाई अर्थशास्त्री मनिकर कार्कीले अनावश्यक खर्चको रुपमा लिदै आवश्यकता भएको विमानस्थल बनाउन सबैका लागि हित होला तर जिल्ला–जिल्लामा जहाँ एक सय किलोमिटरको दूरीभित्र अर्को विमानस्थल बनाउनुभन्दा भएका सडकलाई राम्रो बनाउँदा राम्रो हुने उनको भनाइ रहेको छ।
सडक सहज भएपछि विमानस्थल कम प्रयोगमा आउने धेरैको बुझाई रहेको र त्यसमा फेरि जिल्ला जिल्लामा विमानस्थलको माग जायज नहुने बुटवलका अधिवक्ताले बताएका छन्। त्यस्तै नेताहरुले देखाउने आवश्यकताका आधारमा बनाइएका विमानस्थल व्यावसायिक रुपमा फलदायी हुन नसक्ने र राज्यको रकममात्र दुरुपयोग हुने उनको भनाइ छ।
गुल्मीमा निर्माणाधीन विमानस्थलमा यो आर्थिक वर्षमा पिचको काम सकिन्छ । ५२० मिटर रनिङ्ग एरिया रहेको गुल्मीको रेसुङ्गा विमानस्थलका लागि अहिलेसम्म १५ करोडभन्दा धेरै रकम खर्च भएको छ। त्यहाँ करिब ३० करोड खर्च हुने अनुमान रहेको छ। अर्घाखाँचीको अर्घा भगवती विमानस्थलको दोस्रो चरणको काम भइरहेको छ। सन्धिखर्क नगरपालिका–१० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको यस विमानस्थल २०७३ साल असार १३ गते शिलान्यास भएको थियो। हाल माटो काट्नका लागि साढे ४ करोडको नयाँ ठेक्का भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियरले जानकारी दिएका छन्।
२०७१ सालबाट प्रक्रिया अगाडि बढेको प्युठानको स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन पश्चात ‘ईआईए’को काम सकिएको छ। विमानस्थल निर्माणका लागि ६०.७९ हेक्टर क्षेत्रफल आवश्यक पर्ने अध्ययनले देखाएको छ। आयोजना निर्माण गर्दा ५५.१८ हेक्टर राष्ट्रिय वनअन्तर्गतको हरियाली सामुदायिक वनको जग्गा अधिग्रहण हुने देखिएको छ। यस आयोजनाको प्रस्तावित लागत ७७ करोड छ।
रोल्पाको बडाचौरमा रहेको विमानस्थल लामो समयदेखि बन्द छ । उक्त विमानस्थल फेरि सञ्चालनमा ल्याउनुपर्ने माग बेलाबेला उठ्ने गरेको छ। तर विमानस्थल सञ्चालनको प्रक्रिया अगाडि नबढाएको प्राधिकरणका अधिकारीहरु बताएका छन्। हाल विमानस्थलमा संरक्षणका लागि तारजाली लगाउने काम भएको छ। त्यस्तै रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हप्तामा दुई दिन उडान हुने गरेको छ।