काठमाडौँ। उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ। प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ।
उद्योगमा नेपाली र चिनियाँ लगानीकर्ताको साझेदारी रहेको छ। नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् आपूर्ति दिएको छ। प्रसारण लाइन तथा सवस्टशन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो।
प्राधिकरणका सञ्चालक समिति सदस्य भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहकसेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो।
होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्ने छ। उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने छ। त्यसका लागि समेत उद्योगले माग गरिसकेको छ। विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिरहेको थियो। यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपतहुँदै आएको उद्योगले जनाएको छ।
कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयवासीको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत् दिन सकिएको जानकारी दिए। होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई विद्युत् उपलब्ध गराइएको हो।
कूल २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत् आपूर्ति दिइएको हो। प्राधिकरणले अन्य उद्योगलाई पनि यसैगरी बिजुली उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। कूल २२० केभी क्षमताका प्रसारण लाइनको निर्माणले प्राथमिकता पाएपछि प्राधिकरणले १३२ केभी क्षमताका प्रसारण लाइनलाई वितरण लाइनमा परिवर्तन गरेको छ।
नवलपरासी, रुपन्देहीका अन्य उद्योगलाईसमेत माग अनुसारको बिजुली उपलब्ध गराउन प्राधिकरणले आवश्यक तयारी गरिरहेको छ। मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन ठूला उद्योगले मागेजति विद्युत् दिइरहेका छौं, कार्यकारी निर्देशक घिसिङले भने। ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने योजनामा प्राधिकरण छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसम्म विद्युत् पुर्याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको छ। वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुनसकेको छैन। नेपाल सरकारको लगभग रु ४० करोड लगानीमा उक्त आयोजना निर्माण सुरु गरिएको हो।