रुकुम पश्चिम। मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा अत्याधुनिक रंगशाला निर्माण अलपत्र परेको छ । बजेट अभावको कारण निर्माण रोकिएको नगरपालिकाले जनाएको छ । ३ वर्षअघि २०७६ सालमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाएर त्यसको दोस्रो वर्ष २०७७।७८ देखि काम थालिएको यो रंगशाला निर्माणको काम पछिल्लो वर्षमा अघि बढ्न नसकेको हो ।
नगरपालिकाका इन्जिनियर पहलबहादुर पुनका अनुसार डीपीआरअनुसार २८ करोड १० लाखको लागत इस्टिमेट गरिएकोमा पहिलो वर्ष करिब ८७ लाख खर्च गरिएको थियो । ‘संघीय सरकारअन्तर्गतको यो आयोजनामा पहिलो वर्षपछि बजेट नै आउन सकेन,’ उनले भने, ‘यसको डीपीआर गर्नका लागि नै १३ लाख ४४ हजार खर्च भएको छ ।’ सदरमुकाम खलंगामा ठूला खेल खेल्नका लागि उपयुक्त मैदान नै नभएकाले अत्याधुनिक सुविधासम्पन्न ठूलो रंगशाला बनाउने काम तत्कालीन सरकारले अघि सारेको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताए ।
‘संघीय सरकारअन्तर्गतका बहुवर्षीय योजनाहरूमा बजेटको निरन्तरता नहुँदा यस्ता ठूला योजनाहरू प्रभावकारी ढंगले अघि बढ्न सकेका छैनन्,’ उनले भने, ‘रंगशालामा अहिलेसम्म जमिन खन्ने, आरसीसी गर्ने र ग्याबियन गारोको काम मात्रै भएको छ ।’ बजेटको उपलब्धता भएर लगातार काम भएको भए अहिलेसम्म निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ ।
सदरमुकामको मूल बजार खलंगादेखि करिब ४ किलोमिटर पश्चिममा रहेको निर्माणाधीन रंगशालाले गति लिनुपर्ने मुसीकोट–३ का अध्यक्ष दशरथ केसीले बताए । जिल्लाको गौरवका आयोजनाका रूपमा यसलाई अघि बढाउनुपर्ने उनको जोड छ । ‘योजना बनाएर एक चरण लगानी नै गरिसकेको काम रोकिनु हुनु दुःखद हो,’ उनले भने, ‘अहिलेसम्मको लगानी सुरक्षित गर्दै कामलाई गति दिन संघीय सरकारको ध्यान जान जरुरी छ ।’ आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने तय भएको छ । तर रुकुम पश्चिममा फुटबल, क्रिकेटजस्ता ठूला खेलको अभ्यास गर्ने पर्याप्त मैदान नै छैन ।
जिल्लाका विभिन्न स्थानमा रंगशाला र खेल मैदान निर्माणका लागि भनेर गरिएको लगानी कनिका छरेको जस्तो भएकाले परिणाम आउन नसकेको जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष गोविन्दप्रकाश ओलीले बताए । ‘कर्णाली सरकारले एक पालिका एक खेल मैदान भनेर लगानी त गर्यो तर यसले नाम मात्रका खेल मैदन बने,’ उनले भने, ‘सानो क्षेत्रफलमा खेल्न सकिने खेलबाहेकका ठूला खेल खेल्ने मैदानको अभाव छ ।’ कान्तिपुरबाट