काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उद्योगलाई बिजुली बेच्न उद्योगको दैलोमै पुगेका छन्। होङ्सी सिमेन्टलाई ३० मेगावाट विद्युत दिएको भोलिपल्ट घिसिङ नवलपरासीमा रहेका अन्य उद्योगमा पनि पुगेका छन्। नवलपरासीमा भएको बेला कार्यकारी निर्देशक घिसिङले सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, पञ्चकन्या स्टिल लगायतका उद्योगमा गएर थप विद्युत दिने विषयमा छलफल गरेका छन्।
हाल उद्योगले यो भन्दा पहिले स्वीकृत गरेको लोड समेत पूरा लिएका छैनन्। १० मेगावाट लोड स्वीकृत गरेको उद्योगले ५ मेगावाट मात्रै खपत गरिरहेका छन्। हामीले बिजुली पाएनौ भनेपनि स्विकृत लोडनै प्रयोग नभएको अवस्था रहेको घिसिङको भनाइ रहेको छ। विद्युत खेर जाँदा पनि खपत नबढेपछि उद्योगको ढोका ढोकामा पुगेका उनले बताएका छन्।
उद्योले मागेको सानो तिनो लोड तत्कालै दिने व्यवस्था गर्ने साथै सर्वोत्तम र लक्ष्मी स्टिलले ६÷६ मेगावाट विद्युत एक महिनाभित्र पाउँने उनले जनाए। त्यस्तै उद्योगले मागेको ठूलो लोड लिन भने उद्योगले बनाउने संरचना बनाउनै ६ महिना लाग्ने भएकाले, ६ महिनापछि मागेजति विद्युत दिने उनले बताएका छ्।। सिमेन्ट र डण्डी उद्योगले ठूलो परिमाणमा विद्युत खपत गराउन सक्ने भएकाले घिसिङको ध्यान उद्योगीतर्फ पुगेको हो।
बर्दघाट–सर्दी १३२ केभी लाइनको निर्माण पूरा नभएपनि भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनलाई बीचबाटै ट्यापिङ गरी होङ्सीलाई विद्युत आपूर्ति दिइएको छ। यसबाट दुम्कीबासबाट सर्दीतर्फका अन्य उद्योगलाई समेत विद्युत आपूर्ति दिन सकिने भएको छ। हाल होङ्सीले १३२ केभी लाइनबाट सिधै आपूर्ति लिएको छ।
नवलपरासीमा परासी र कावासेती वितरण केन्द्रबाट गरेर करिब २०० मेगावाट विद्युतको थप माग भएको छ। यी मध्ये होङ्सीले ३० मेगावाट बिजुली पाएपनि अन्य उद्योगले बिजुली पाउन सकेका छैनन्। नवलपरासी केन्द्रबाट समृद्धि मेटालिटी उद्योगले सर्वाधिक ४५ मेगावाट, सर्वोत्तम सिमेन्टले २० मेगावाट, सिद्धिलक्ष्मी स्टिलले पनि २० मेगावाट, लक्ष्मी स्टिलले १३ मेगावाट, पाल्पा सिमेन्टले १२ मेगावाट, गोयल स्पातले ५ मेगावाट, एसेल इण्डस्ट्रिजले २ मेगावाट र सिद्धि विनायक स्टिलले पनि २ मेगावाट थप विद्युत माग गरेका छन्।
त्यस्तै कावासेती वितरणकेन्द्र अन्तर्गत होङ्सीले पहिलो चरणमा ३० मेगावाट बिजुली पाएपनि दोस्रो चरणमा थप ५० मेगावाट बिजुली चाहिने उद्योगले जनाएको छ। सिजी सिमेन्टले पनि कावासेतीबाटै २५ मेगावाट बिजुली माग गरेको विद्युत प्राधिकरणको तथ्याङ्कमा उल्लेख रहेको छ।
नवलपरासीपछि पर्सा स्थित सिमरा औद्योगिक क्षेत्रमा १५० मेगावाट भन्दा बढी बिजुलीको माग रहेको प्राधिकरणले जनाएको छ। सिमरामा जगदम्बा इन्टरप्राइजेजले ४४ मेगावाट, जगदम्बा स्टिलले ४३ मेगावाट, अशोक स्टिलले १० मेगावाट, हुलास स्टिलले ५ मेगावाट सहित करिब १५० मेगावाट विद्युत माग रहेको प्राधिकरणले जानकारी गराएको छ। हाल यस क्षेत्रमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणले सवस्टेसन निर्माण र प्रसारणलाइन विस्तारको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ। उक्त क्षेत्रमा पनि मागेजति विद्युत दिन अर्को महिना सिमरा क्षेत्रका उद्योगको घरदैलोमा जाने पनि घिसिङले बताएका छन्।