कञ्चनपुर। कोरोना संक्रमणका बेला निर्माण भएको होल्डिङ सेन्टर अलपत्र अवस्थामा परेको छ । दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका बेला निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण भएको संरचना एक वर्षदेखि अलपत्र परेको छ । १ हजार बढीलाई राख्न सकिने क्षमताको उक्त होल्डिङ सेन्टर सञ्चालनका विषयमा अझै पनि अन्योलता रहेको छ ।
उक्त क्षेत्रमा ५० बेड क्षमताका २२ वटा ठूला संरचना, ३ वटा भान्साघर र १२ डाइनिङ हल तथा २२ वटा शौचालय गरी ५९ वटा संरचनाहरू निर्माण भएका छन् । भवनभित्र बेडदेखि कुर्सी टेबुलहरू पनि राखिएका छन् । तर तिनको रेखदेख गर्नेसमेत कोही छैन ।
कोरोना संक्रमण तीव्र बढ्न थालेपछि सरकारले २९ करोड ९९ लाखमा नेपाली सेना मातहत गतवर्ष उक्त होल्डिङ सेन्टर निर्माण गरेको थियो । भारतबाट घर फर्किनेहरूमा संक्रमण देखिए सोही क्षेत्रका होल्डिङ सेन्टरमा होम आइसोलेसनमा राख्ने लक्ष्य राखिएको थियो ।
‘हामीले गतवर्ष नै निर्माण सकेर नेपाली सेनालाई हस्तान्तरण गरेका हौं,’ होल्डिङ सेन्टर निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका परियोजना प्रबन्धक लक्ष्मण सापकोटाले भने, ‘गतवर्ष साउनमै हामीले सबै काम सम्पन्न गरिसकेका थियौं ।’ उनका अनुसार ठूला भवनमा बेडदेखि आवश्यक सबै सामग्री राखिएको छ ।
कोरोना संक्रमण सुरु हुने बेलामा होल्डिङ सेन्टर सञ्चालनको कुरा उठ्छ । तर संक्रमण कम भएसँगै यो कुरा पनि सेलाउँछ । भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला त्यहाँबाट घर फर्किने नेपालीहरूमा पनि संक्रमण देखिन थालेको छ । पछिल्लो दुई हप्तामा मात्रै भारतबाट घर फर्किने १०र१२ जनामा संक्रमण देखिएको छ । गड्डाचौकी नाकामा गरिएको एन्टिजेन परीक्षणमा दिनहुँ संक्रमण पुष्टि भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार गड्डाचौकी नाकामा १८५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्ट भएको छ । मंगलबार जिल्लामा ४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको थियो ।
होल्डिङ सेन्टर सञ्चालनबारे रक्षा मन्त्रालयले अध्ययन थालेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए । उनका अनुसार मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली गठन भएर अध्ययनको काम भइरहेको छ । गत साता उक्त टोलीले महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको पनि अनुगमन गरेको थियो ।
‘हामीले चारवटा विकल्पमा जान सकिने सुझाव दिएका छौं,’ प्रजिअ अर्यालले भने, ‘टोलीले हाम्रो सुझाव संकलन गरेर फर्केको छ ।’ उनले पहिलो विकल्प १ हजार क्षमताको उक्त संरचनालाई ३० प्रतिशत होल्डिङ सेन्टरकै रूपमा र बाँकी संरचनालाई लागूऔषध दुर्व्यसनीमा फसेकाका लागि पुनर्स्थापन केन्द्र बनाउन, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने गरी सुझाव दिइएको हो । कान्तिपुरबाट