चितवन। भरतपुर महानगरपालिकी मेयर रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भरतपुरमा बुधबार भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको छ ।
महानगरपालिकाकी मेयर रेनु दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पु¥याएकोमा राजदूत चेनलाई धन्यवाद व्यक्त गरिन् । महानगरपालिकाकी मेयर दाहालले महानगरीय मेट्रो रेल, नेपाल चाईनामैत्री पार्क निर्माण चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गरेकी छन् । उनले भरतपुरको विकासमा चिनियाँ प्राविधिक समूह उपलब्ध गराई नमूना महानगर निर्माणको लागि पनि आह्वान गरिन् ।
भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य क्षेत्रमा चीनको आवश्यक स्रोतसाधनको उपलब्धताले दीगो विकासमा सहयोग पुग्ने प्रमुख दाहालले
बताइन्।
मेयर दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनि दिइन् । नेपालका लागि चिनियाँ राजदूत चेनले भरतपुरमा महानगरीय मेट्रो रेल, नेपाल चीनमैत्री पार्र्क, शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल गरी अगाडि बढ्न सकारात्मक रहेको उल्लेख गरे।
राजदूत चेनले भरतपुर भ्रमण वर्ष २०२४ मा चीनबाट बढीभन्दा बढी पर्यटक आउने वातावरण निर्माण गर्ने उल्लेख गरे । राजदूत चेनले भरतपुरमा भइरहको तीव्र विकास निर्माणबारे आफू जानकार रहेको बताउँदै प्रमुख दाहालको प्रशंसा पनि गरे । सात सदस्यीय टोलीसहित भरतपुर आइपुगेका भएको राजदूत चेनले भरतपुरको विकासको बारेमा स्थलगत अवलोकनसमेत गरेका छन् ।