नुवाकोट। सरकारले केन्द्रीय कारागार निर्माणका लागि छैटौं पटक म्याद थप्दा पनि भौतिक प्रगति ८० प्रतिशत मात्र भएको छ । विदुर नगरपालिका–६ स्थित चण्डीपोखरीमा कारागार बनिरहेको छ । यहाँ बन्दीगृह, डाइनिङ, वर्कसप, सुरक्षा, शौचालय, अस्पताल, विद्यालय र कार्यालय गरी जम्मा ३० वटा भवनहरू छन् । त्यसमध्ये सुरक्षा निकायका लागि ४ र एउटा कार्यालय सञ्चालनका लागि निर्माण भइरहेको छ ।
कारागारको क्षमता १३ हजार कैदीबन्दी अटाउने छ । केन्द्रीय कारागार निर्माणका लागि ६ सय २० रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण गरी सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय धादिङमार्फत निर्माण भइरहेको हो । ‘आधुनिक कारागार भवनभित्र बिजुली लाइनका लागि वायरिङको काम भइरहेको छ,’ आयोजनाका सबइन्जिनियर अजय भट्टराईले भने, ‘कहीं खापा हाल्न काठको काम भइरहेको छ । सेन्ट्री पोस्टको काम थालिए पनि अहिले रोकिएको छ ।’
पहिलो चरणमा ०७१।७२ मा २ करोड ५ लाख ७ हजार रुपैयाँमा वरिपरि पर्खाल लगाइएको थियो । दोस्रो चरणको निर्माण सम्झौता ०७३ असोज ३० मा भएको हो । ८० करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता घटाघटमा ४२ करोड ३१ लाख रुपैयाँ लामा र रमण जेभीले सकारेको थियो । उक्त ठेक्कामा १० वटा कैदीबन्दी बस्ने भवन, ५ वटा वर्कशप, ५ वटा शौचालय, ५ वटा भान्सा, सशस्त्र र नेपाल प्रहरीका लागि २ वटा भान्सा, छात्रवास, जेलरका लागि एउटा प्रशासनिक भवन गरी जम्मा ३० वटा भवन बनाउनुपर्ने सम्झौता छ । त्यसमध्ये १० सेन्ट्री पोस्ट, सेक्युरिटी वाल, ट्यांकी, सेप्टिक ट्यांकी सक्रिट रहेको सबइन्जिनियर भट्टराईले बताए । निर्माणाधीन भवनका छतका प्लास्टर उप्किन थालेका छन् भने प्रयोग गरिएको बालुवा पाँगोमाटोयुक्त छ ।
०७७ सालदेखि १५ सय कैदीबन्दी नवनिर्मित भवनमा सार्ने भनिएको थियो । कारागारमा कैदीबन्दीलाई विशेषज्ञसहित स्वास्थ्य सेवा, पार्क, सुधारगृह, विद्यालय, पुस्तकालय, सीप केन्द्र, खेल मैदानलगायतको सुविधा रहनेछ । ‘३ वर्षमा सिध्याउनुपर्ने ठेक्का हो,’ सबइन्जिनियर भट्टराईले भने, ‘अझै सकिएको छैन ।’ प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्माणस्थलको अनुगमन गर्दै कैदीबन्दीलाई स्थानान्तरण गर्न पाए सहज हुने उनले बताए । राजधानीको चाप घटाउन र सुविधायुक्त जेलका लागि ०७० चैत २० गते बसेको मन्त्रिपरिषद्को बैठकले नुवाकोटमा कारागार सार्ने निर्णय गरेको थियो ।
केन्द्रीय कारागारका लागि अर्को ४ अर्ब ९७ करोडको लगत इस्टिमेट भएको छ । त्यसमा अहिले निर्माण भइरहेकाबाहेक कैदीबन्दीका लागि थप ३ वटा ब्लक बन्नेछन् । त्यसमा कैदीबन्दीका लागि ३० वटा भवन, १५ वर्कसप, १५ शौचालय, १५ डायनिङ, आन्तरिक बाटो २।७ किमि बाटो, ५० शय्याको अस्पताल, स्कुल भवन, सशस्त्र र नेपाल प्रहरीको भवन, सशस्त्रको डीएसपी र इन्स्पेक्टरको छुट्टै भवन हुनेछ भने नेपाल प्रहरीको डीएसपी र इन्स्पेक्टर बस्ने एउटै भवन हुनेछ । डाक्टर र कर्मचारीको १र१ आवास भवन, नेपाल प्रहरी र सशस्त्रको पुरुष तथा महिलाका लागि छुट्टै ब्यारेक भवन बन्नेछ । सशस्त्रका लागि थप ५ वटा बन्नेछ । नेपाल प्रहरीको पुरुष र महिलाका लागि १र१ ब्यारेक हुनेछ ।
बाहिरको वालमा फिनिसिङ वाल लगाएर घुमाउरो तार लगाई पूरै कारागार घेरिने सबइन्जिनियर भट्टराईले बताए । अब ३ वर्षको अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि टेन्डर भई मूल्यांकनको चरणमा रहेको आयोजनाले जनाएको छ । कान्तिपुरबाट