सल्यान। भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयावधिभित्र काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द हुने बताएका छन्।
नेपाल पत्रकार महासंघ सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले ठेक्का लिएर सम्झौता गरिसकेका तर समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताएका हुन्।
उनले जुनसुकै ठाउँबाट दवाब आए पनि काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडिने बताए।
उनले भने, “निर्माण व्यवासायीले ठेक्का लिने र होल्ड गर्ने काम भैरहेको छ, ठेक्का लिएर सम्झौता भैसकेपछि, हामी काम गराउनमा जान्छौ, उपाय नै भएन भने त्यो ठेक्का तोडछौं ।”
विकास निर्माणका योजनाप्रति बदमास र बेइमानी गर्ने कुनै निकायलाई छुट नभएको भन्दै मन्त्री ज्वालाले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए। पहिलेदेखि अलपत्र परेका गौरवका महत्वपूर्ण योजनालाई तत्काल अगाडि बढाएर प्राथामिकताका साथ काम गर्ने बताए। कतिपय योजनामा टेण्डर नै नपर्ने, कतिपय योजनामा टेण्डर परेर सम्झौता हुने तर काम अघि नबढ्ने समस्या देखिएको उनले बताए।
यसैबीच जिल्ला प्रशासन कार्यालय सल्यानले आयोजना गरेको सर्वदलीय सर्वपक्षिय छलफल कार्यक्रममा मन्त्री ज्वालाले सल्यान जिल्लाको सन्दर्भमा राप्ती लोकमार्ग आफ्नो प्रमुख अर्जुनदृष्टि भएको बताए।
सल्यानी जनताको प्रमुख समस्या राप्ती लोकमार्ग भएको बताउँदै आफ्नो कार्यकालमा नै लोकमार्गको पूर्ण रुपमा स्तरोन्नति गर्ने बताए। मन्त्री ज्वालाले आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने प्रष्ट पारे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कोइरालाले कोभिड संक्रमणका कारणले अघिल्ला वर्षमा निर्माणको कामले तिव्रता नलिए पनि अब भने छिटो कार्य सम्पादन हुने बताए।