काठमाडौं। सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत निर्माण थालिएका ३१ स्वास्थ्य संस्था भवनको निर्माण कार्य अझै पूरा भएका छैनन्। दोस्रो पटक थप गरिएको म्याद सकिँदा पनि निर्माण व्यवसायीको लापरबाहीका कारण भवन निर्माणको काम पूरा हुन नसकेको हो।
जाजरकोट, बारा, तेह्रथुमलगायतका ३० जिल्लामा स्वास्थ्य संस्था भवन निर्माणको जिम्मेवारी भवन विभागलाई प्राप्त भए पनि दोस्रो पटक म्याद थप गर्दा पनि अझै निर्माण पूरा भएको छैन । ती भवन निर्माणको समय ०७९ असार मसान्तमा सकिएको हो ।
सुरु म्याद समाप्त भई सोही बराबरको म्याद थप हुँदासमेत निर्माण सम्पन्न हुन नसकेका ५७ योजनालाई विभागले रुग्ण योजनामा वर्गीकरण गरेको थियो । ठेक्का सम्झौता भएकामध्ये १७ योजनाको शतप्रतिशत भौतिक प्रगति भए पनि योजनाको नापजाँच एवं अन्तिम बिल भुक्तानी गरी हस्तान्तरण गर्न बाँकी रेको महालेखा परिक्षकको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी ९ योजनाको कार्य अन्तिम चरणमा रहेको, २० योजनाको निर्माण कार्य भइरहेको उल्लेख गरिएको छ । ‘जसमध्ये ११ योजनाको कार्य प्रगति नभएको र निर्माण कार्य अधुरो छाडी सम्पर्कविहीन बन्दै सम्झौताअनुसार कार्य नगर्ने निर्माण व्यवसायीसँग सम्झौता अन्त्य गरी बाँकी कार्य सम्पन्न गर्नुपर्ने देखिन्छ,’ महालेखा परिक्षकको प्रतिवेदनमा भनिएको छ ।
सार्वजनिक खरिद नियमावली,२०६४ को नियम १११ (ङ) र १२८ मा सम्झौता कार्यान्वयनको प्रगति अनुगमन गर्ने र सम्झौता उल्लंघन गर्ने निर्माण व्यवसायीलाई पूर्वनिर्धारित क्षतिपूर्ति लगाउने, सम्झौताको अन्त्य गर्ने र सम्झौताबमोजिम काम नगर्ने निर्माण व्यवसायीको खर्चमा त्यस्तो कार्य सम्पन्न गराउने व्यवस्था रहेको प्रतिवेदनमा भनिएको छ । कान्तिपुरबाट