काठमाडौं। विगत ६ वर्षदेखि मुडे–चरिकोट सडक अलपत्र पार्ने ठेकेदारलाई संरक्षण गरेर सडक निर्माणमा चासो नदेखाएको भन्दै आन्दोलित ७ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ। चाँडै सडक निर्माण गर्न दबाब दिइरहेका दोलखावासी माथि प्रहरी हस्तक्षेप भएको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाले आज मुडे चरिकोट सडक निर्माण अलपत्र भएपछि आन्दोलनमा उत्रिएकाहरूलाई नियन्त्रणमा लिएको हो,। पक्राउ पर्नेहरूमा मुडे–चरिकोट सडक निर्माण संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्के, सहसंयोजक रमेश खतिवडा, सचिव गोकर्णप्रसाद भण्डारी, सदस्यहरू श्रिजनकुमार घिमिरे, श्याम खतिवडा, अर्जुन कार्की र राजन बस्नेत रहेका छन्।
सडक समयमै नबनाएको भन्दै दोलखावासीले हरेक सवारीसाधनमा भौतिक पूर्वधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो राखेर विरोध गरेका थिए। पक्राउपछि पनि उनीहरुले प्रहरी परिसरभित्रै नाराजुलुस गरेका छन्। उनीहरुले जिल्ला प्रहरी कार्यालय दोलखाको परिसरमा ‘छिटो सडक निर्माण गर’ जस्ता नारा लगाएका हुन्।
यस अघि सम्बन्धित ठेकेदारको फोटो गाडीमा राखेर विरोध गरेपनि सडक निर्माणमा चासो दिइएको थिएन। यो पटक भने भौतिक पूर्वधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो राखेर विरोध गरेका हुन्। उनीहरुले भौतिक पूर्वधार मन्त्री रेणुकुमारी यादव, सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटो टाँसेका हुन्।
अलपत्र सडक निर्माणमा कुनै निकायको चासो नदेखाएको भन्दै बाध्य भएर मन्त्री,सचिव र महानिर्देशकको फोटो टाँसेर दबाब दिन सुरु गरिएको स्थानीय दिपक तामाङको भनाई छ। सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी हैदर–शंकरमाली–सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का पाएको हो। ७९ करोडमा निर्माण सम्झौता भएको सडकको सोही वर्षदेखि काम सुरु गरेको थियो।