कञ्चनपुर । भ्रष्टाचार अभियोगमा भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर भएको छ।
महाकाली नदीको उत्खननसम्बन्धी ठेक्कामा ५ करोडभन्दा बढीको भ्रष्टाचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ विरुद्ध मुद्दा दायर गरेको हो।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालयसिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले २०७८र७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानि नोक्सानी भएको ठहर गरेको छ ।
भवानी कन्स्ट्रक्सनलाई १ करोड ९५ लाख लाभ पुग्ने गरी नगरपालिकाको राजस्व चुहावट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत उपाध्यायलाई सोही बराबरको बिगो दाबी गरेको छ । यसैगरी भवानी कन्स्ट्रक्सनबाट बैंक जमानत नलिई सम्झौता गरेको भन्दै नगरपालिकालाई ३ करोड ४७ लाख हानि नोक्सानी गरेको भन्दै सोही बराबरको बिगो दाबी गरिएको छ ।
इन्जिनियर ऐर, अधिकृत अधिकारी, नासु भट्ट र लेखापाल चौधरीले १ करोड ९५ लाख बराबरको राजस्व चुहावट गरेको भन्दै सोही बराबरको बिगो दाबी गरेको छ । कन्स्ट्रक्सनका सञ्चालक ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र प्रतिनिधि दिवाकर भट्टविरुद्ध ५ करोड ४३ लाख बराबरको बिगो दाबी गरिएको छ । सञ्चालक ईश्वरीको मृत्यु भइसकेकाले ५ करोड ४३ लाख बिगो उनकी श्रीमती खगेश्वरी भट्टबाट असुल गर्न माग गरिएको छ ।