पाँचथर। सदरमुकाम फिदिमदेखि रानिटार, गोरुवाले हुँदै इलामको पर्यटकीय स्थल सन्दकपुर जोड्ने ३२ मध्ये ७ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकास कार्यालय पाँचथरमार्फत निर्माण भइरहेको उक्त सडकका लागि प्रदेश सरकारले २६ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
यसमध्ये ४ करोड २० लाख रुपैयाँ लागतमा ७ किलोमिटर कालोपत्रका लागि दिवा सफल जेभी काठमाडौंले जिम्मेवारी पाएको थियो । २०८० असारभित्र सक्ने सम्झौता भए पनि वैशाखभित्रै काम सक्ने लक्ष्य रहेको इन्जिनियर प्रतीक भट्टराईले बताए । यस्तै सदरमुकाम फिदिमबाट नांगिन, याङनाम सिदिन हुँदै सिक्किम र पश्चिम बंगालको सीमावर्ती फालौट जोड्ने फिदिम याङ्नाम फालौट मार्गको १० किलोमिटर सडक यसै वर्ष कालोपत्र गरिएको छ । करिब ६० किलोमिटर लम्बाइ रहेको उक्त सडकको थप २५ किलोमिटर गत वर्ष नै कालोपत्र भइसकेको थियो ।
यो वर्ष फिदिमदेखि नांगिन सल्लेरीसम्मको १० किलोमिटर सडक कालोपत्र गरिएको हो । ६० करोड २७ लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको उक्त सडकको १० किलोमिटर कालोपत्रे गर्न प्रदेश सरकारले ९ करोड रुपैयाँ खर्चेको छ । यता फिदिमदेखि कुम्मायक गाउँपालिका केन्द्र यासोक जोड्ने सरखण्डे यासोक सडक खण्डको ११।३१ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्ने काम अगाडि बढेको छ । उक्त सडकको लागत ६० करोड ९२ लाख रुपैयाँ छ ।
सदरमुकाम फिदिमदेखि सिवा दोभान लुम्फावुङ हुँदै नवमीडाँडा जोड्ने १३.९५ किलोमिटर सडक खण्ड पनि कालोपत्रेको चरणमा पुगेको छ । उक्त सडक निर्माण र कालोपत्रका लागि प्रदेश सरकारले ७४ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यी सबै सडक कालोपत्रको काम यसै आर्थिक वर्षभित्र सक्ने प्रयास रहेको पूर्वाधारका इन्जिनियर मुकेशराज साहले बताए ।
‘यी सबैको कालोपत्र सकिंँदै जिल्लामा कुल ४३ किलोमिटर पक्की सडक थप हुन्छ,’ उनले भने । यसअघि जिल्लामा मेची राजमार्गको राँकेदेखि कावेलीसम्म, मध्यपहाडी लोकमार्गको तमोर खोलादेखि जोरसाल, सोही लोकमार्गको गणेशचोकदेखि थर्पु र सामदिन सिवा नवमीडाँडा सडक खण्ड कालोपत्र गरिएको छ । जिल्लामा करिब ८ सय किलोमिटर सडक खनिए पनि कालोपत्र भने २ सय किलोमिटरको हाराहारीमा मात्रै गरिएको हो ।
सरकारले जिल्लाका आठ वटै स्थानीय तहका केन्द्रसम्म जोड्ने सबै सडक कालोपत्रे गर्ने योजना बनाए पनि पाँथरमा हालसम्म फिदिम नगरपालिका र याङवरक गाउँपालिका केन्द्र मात्रै पक्की सडकको पहुँचमा छ । फाल्गुनन्द, मिक्लाजुङ, फालेलुङ, तुम्वेवा र हिलिहाङ जोड्ने सडक कालोपत्र गरिएका छैनन् भने कुम्मायक गाउँपालिका जोड्ने सडकमा कालोपत्र भइरहेको छ । कान्तिपुरबाट