दार्चुला। दार्चुलाको नौगाड गाउँपालिका–६, धुलिगडामा मोटरेबल पुल निर्माण भएको छ। उक्त पुल निर्माण सुरु गरेको आठ वर्षमा सम्पन्न भएको हो।
गाउँपालिकाका अनुसार सो पुलमा भार परीक्षण (लोड टेस्ट) गरेर ट्रक र बसलगायतका सवारीसाधन आवतजावत गर्न अनुमति प्राप्त भएको हो।
धुलिगडा पुल सञ्चालनमा आएसँगै नौगाड गाउँपालिकाको खेडासम्म नियमित रूपमा बस सेवा सञ्चालन हुनुका साथै सामान ढुवानीमा सजिलो भएको छ। यहाँको कपडे भीर, सौकेबगड भीर, गोगनेनजिक पहिरो गएको स्थानमा पक्की वाल लगाउने काम भइरहेकाले आउँदो असारसम्ममा होपरीगाड–गोगनेसम्म बस सेवा र ट्रक सञ्चालनमा आउने बताइएको छ।
निर्माण कम्पनीको लापरबाहीका कारण विगतमा पटकपटक म्याद थप गर्दासमेत पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको थियो। पुल समयमा नै निर्माण गर्न दबाब बढेपछि पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको हो।
तत्कालीन जिल्ला विकास समितिबाट निर्माण सुरु भएको सो पुललाई अहिले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय, बैतडीले निर्माण गरेको हो।
पुल समयमा निर्माण नहुँदा स्थानीयलाई आवतजावत गर्न निकै समस्या भएको थियो। अब बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भन्दै स्थानीय खुशी भएका छन्।
उक्त पुल साढे तीन करोड रुपियाँ लागतमा निर्माण भएको छ भन्, ४५ मिटर लम्बाईको रहेको छ।