काठमाडौं। सुडानमा सेना र अर्धसैनिक बलबीचको भीडन्त अझै जारी छ । भीडन्तमा ५० जना भन्दा बढीले जीवन गुमाएका छन् । ६ सय घाइते भएका छन्।
राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा दुई पक्षबीच भीडन्त भएको छ । त्यहाँको भीडन्तमा १७ सर्वसाधारणसहित २५ जनाको मृत्यु भएको छ । अन्य डार्फर क्षेत्र लगायतमा पनि लडाइँ जारी छ ।
अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र ३ विमानस्थल नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले त्यसलाई अस्वीकार गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सुडानमा गृहयुद्धको जस्तो अवस्था छ । स्थिति बिग्रिंदै गएपछि सबै अन्तर्राष्ट्रिय उडान स्थगित भएका छन् । केही विमानस्थलमा आगलागी भएको छ । शहरका घर९घरमा गोली चलेको र बिष्फोटको आवाज सुनिएको छ ।
देशमा प्यारामिलिट्री र्यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई सेनामा समायोजन गर्नुपर्ने माग सम्बन्धी विवाद नै लडाइँको कारण हो । यो माग सेनाले अस्वीकार गर्दै आएको छ । अक्टोबर २०२१ को विद्रोहपछि सुडानको राज्य सञ्चालन सैनिक जनरलको सार्वभौम परिषद्ले गर्दै आएको छ ।
परिषद्को प्रमुख सेनाको जनरल अब्देल फतह अल बुरहान छन् । आरएसएफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगलोको अधीनमा छ । नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई अब सेनामा समायोजन गर्ने समय तालिका बनाएको छ ।
सेनाले २ वर्षभित्र समायोजन गरिसक्न चाहेको छ, तर आरएसएफले त्यसलाई १० वर्षसम्म कायम राख्न चाहेको छ । यही विवादमा आरएसएफले मेरोवेमा सैन्य आधार शिविर नजिकै आफ्नो फौज तैनाथ गरेको थियो । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो सेकेण्ड इन कमाण्डसँग सम्वाद गर्न रहेको जनरल बुरहानले बताएको बीबीसीले जनाएको छ ।