काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण गर्दा ध्यान दिन आग्रह गरिएको छ। महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै पूर्वाधार निर्माण र मर्मत कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने विषयमा ७ बुँदे नियम लागू गरेको हो।
महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ ।
त्यसैगरी महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ।
सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्माणाधीनस्थल संकेत गर्न समेत महानगरले अनुरोध गरेको छ ।
निर्माण कार्य पूरा भएपश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनुपर्ने महानगरले सूचनामा उल्लेख गरेको छ।
नियमको उल्लंघन गर्ने माथि ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने महानगरको चेतावनी छ ।
नियमहरु यसप्रकार छन् :
१.सडक किनारमा निर्माण गरिने कुनै पनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा आदि नखस्ने प्रबन्ध गर्नुपर्ने। निजी भवन निर्माण गर्दा समेत सडकपेटीमा कुनै पनि प्रकारले असर नपर्ने गरी गर्नुपर्नेछ।
२.सडक पेटी क्षेत्रमा निर्माण सामग्री खसाली सडक अवरोध वा सडक पेटीमा धूलो फोहोर राख्न वा छोड्न पाइने छैन ।
३.कुनै पनि सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माणाधीन स्थल सङ्केत सहित छेकवार लगाउनुपर्नेछ। जुन निकायले सो कार्य गरेको हो सो निकायको पहिचान स्पष्ट देखिने सङ्केत राख्नुपर्नेछ।
४.सडक वा पेटीको मर्मत वा नयाँ निर्माण गर्दा वा सड़क, पेटीमा केवल, ढल वा पाइप राख्दा त्यस्तो स्थलबाट धुलो माटो नउड्ने वा अन्यत्र नजाने व्यवस्था गर्नुपर्नेछ त्यस्तो कार्य सम्पन्न हुनासाथ तत्काल सडक पिच वा ढलान वा ब्लक राख्ने कार्य गर्नुपर्नेछ र तत्काल गर्न सम्भव नभए त्यस्तो स्थलबाट निर्माण सामग्री हटाउने धूलो, फोहोर नहुने व्यवस्था मिलाउनुपर्नेछ ।
५.सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत लगायतका कार्य सकभर राति ८.०० बजेपछि मात्र गर्ने गराउने प्रबन्ध मिलाउनुपर्नेछ।
६.सडक पेटीमा गरिने कुनै पनि निर्माण, मर्मत कार्यका लागि आवश्यक पर्ने जति सामग्री मात्र निर्माण स्थलमा खसाल्ने वा राख्ने गर्नुपर्नेछ निर्माण स्थलको घेरावार नलगाई वा सङ्केत क्षेत्र निर्धारण नगरी यत्रतत्र राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै बखत उठाई लान सक्नेछ ।
७.सार्वजनिक निकायले सञ्चालन गर्ने कुनै पनि निर्माण मर्मत कार्य सम्पन्न भए पश्चात् त्यस्तो क्षेत्रको पूर्ण सरसफाइ गर्ने दायित्व सम्बन्धित निर्माण कर्ताको हुनेछ र सो को व्यवस्थापन सम्बन्धित निकायको हुनेछ।