सिन्धुली। मदन भण्डारी राजमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिन्धुलीको कमलामाइ नगरपालिका ९ भिमानदेखि उदयपुरको बसाहासम्मको पूर्वी खण्डमा चार किलोमिटर पहुँच सडकबाहेक सबै कालोपत्रे भएको छ ।
पूर्वी खण्डको लम्बाइ १३५ किलोमिटर रहेको छ । निर्माणाधीन १२ वटा पुलमध्ये ११ वटा सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग पूर्वी खण्ड सडक आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा ५५ वटा पक्की पुल रहेका छन् । निर्माणाधीन रहेका ११ वटा पक्की पुलको काम सम्पन्न भएको आयोजना प्रमुख गोपाल खकुरेलले जानकारी दिए ।
ती पुलको पहुँच मार्गमा कालोपत्रे हुनासाथ संचालनमा आउँछन् । उदयपुरको ढप्परमा एउटा पुल निर्माणाधीन अवस्थामा छ ।
सिन्धुलीको दुधौली नगरपालिका ठमाहामा पहुँचमार्गमा नक्सांकन परिवर्तनका लागि स्थानीयले दबाब दिएकाले काम हुन नसकेको आयोजना प्रमुख खकुरेलले बताए । बाँकी सबै स्थानमा पहुँचमार्ग कालोपत्रेको तयारी भएको छ । भिमानबाट रानीवास हुँदै कमला नदी पार गरेर उदयपुरको कटारी हुँदै राजमार्ग गाइघाट पुग्छ ।
त्यहाँबाट उदयपुरकै बसाहासम्म यो राजमार्ग पुग्छ । सप्तकोसीबाट धरान चतरा हुँदै इटहरीसम्म पुगिन्छ । यो सडक भने एसियाली विकास बैंकको सहयोगमा पहिले नै निर्माण भएको थियो ।
मदन भण्डारी राजमार्ग भित्री मधेस र चुरे क्षेत्रबाट बनेको छ । दाँयाबायाँको नाला बाहेक साँढे ७ मिटर चौडाइमा यो सडक कालापत्रे गरिएको छ । सडकको क्षेत्राधिकार दायाँबायाँ १५, १५ मिटर रहेको छ । राष्ट्रिय गौरवको २५० किलोमिटर लामो राजमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ । भिमानदेखि हेटौंडा उप–महानगरपालिका–६ चौगडासम्म ११५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ ।
२०७३ साल कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको राजमार्ग २०७७ कात्तिक महिनासम्म सक्ने लक्ष्य थियो । बीचमा कोरोनाका कारण निर्माणमा ढिलाई भएपछि २०७९ साल असारसम्म सक्ने गरी आयोजनाको डेढ बर्ष म्याद थप भएको छ । यो वर्षको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । पूर्वी खण्डमा ९७ प्रतिशत र पश्चिम खण्डमा ९० प्रतिशत भन्दा बढी सडक निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा ४० वटा पुलमध्ये ३२ वटा निर्माण सम्पन्न भएको र ८ वटा निर्माणाधीन रहेको छ । कान्तिपुरबाट