काठमाडौं। मोरङको उर्लाबारी नगरपालिकामा रहेको १५ शय्याको अस्पताललाई स्तरोन्नति गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ। शेरधन राई नेतृत्वको प्रदेश सरकारले साविकको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्ने योजना अघि सारे पनि तीन वर्षको अवधिमा अस्पतालको नाम फेर्ने बाहेक कुनै काम अघि बढ्न भने सकेन।
साविकको १५ शय्याको स्वास्थ्य केन्द्रलाई ५० शय्यामा स्तरोन्नति गर्ने र अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने निर्णय प्रदेश सरकारले गरेको थियो। हालसम्म ट्रमा सेन्टर बनाउनका लागि सुरुवाती चरणको कामसमेत अघि बढ्न सकेको छैन।
प्रदेश सरकारको २०७६ पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अस्पताललाई विशेषज्ञ सेवासहितको ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको थियो। सोही अनुसार अस्पतालको नाम परिवर्तन गरिएको छ। तर, अहिले पनि साविककै अस्पतालको जनशक्तिबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ। आवश्यक चिकित्सक र प्राविधिकको अभावमा कतिपय सेवा विस्तार हुन सकेको छैन भने विभिन्न उपकरण त्यसै थन्किएका छन्।
पूर्व–पश्चिम राजमार्गमा जोडिएकाले यो अस्पताललाई स्तरोन्नति गरी सवारी दुर्घटनामा परी घाइते भएकालाई तत्काल उपचार सेवा दिने अवधारणा अनुसार प्रदेश सरकारले ५० शय्याको अस्पताल तथा ट्रमा सेन्टरका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।
अस्पतालको भौतिक निर्माण एवं उपकरण खरिदका लागि गत आर्थिक वर्ष छुट्याइएको एक करोड रुपैयाँ काम गर्न नसक्दा फ्रिज भएको छ। अस्पताल विकास समितिका अध्यक्ष नरेश पोखरेलका अनुसार उक्त रकम समयमै खर्च गर्न नसक्दा फ्रिज भएको हो।
अघिल्लो आर्थिक वर्षको रकम खर्च गर्न नसकेर फ्रिज भए पनि चालु आर्थिक वर्षका लागि अस्पताल विकास एवम् स्तरोन्नति बापत प्रदेश सरकारले बजेट छुट्याएको छैन। अस्पतालको विकास एवम स्तरोन्नतिका लागि धेरै काम गर्न बाँकी छ, अध्यक्ष पोखरेल भन्छन्, सरकार यी सबै काम पन्छाउने मार्गमा अघि बढेको देखिन्छ।