तनहुँ। पर्यटकीय नगरी बन्दीपुरमा नयाँ वर्ष लक्षित गरी करिब ६० हजार पर्यटक भित्रिएका छन् । नयाँ वर्षको अवसरमा टुँडिखेलदेखि मुख्य बजार क्षेत्रमा आयोजित ३ दिने सडक खाना महोत्सवमा ६० हजार पर्यटक आएका हुन् ।
बन्दीपुरमा चैत ३० देखि सुरु महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए । उनले भने, ‘३ दिनमा करिब ६० हजार पर्यटकहरू बन्दीपुर आएका थिए । यसमध्ये ३० हजार पर्यटकहरू यहीं बास बसे ।’
अघिल्ला वर्ष आयोजना हुने कार्यक्रमभन्दा यसपल्ट नयाँ किसिमले सडक खाना महोत्सव आयोजना गरिएको हुँदा बढी पर्यटकको आवागमन भएको उनले बताए । ‘अघिल्ला वर्षमा स्टेज बनाएर कार्यक्रम गरिन्थ्यो, कन्सर्ट आयोजना गरिन्थ्यो । यसले त्यही उमेर समूहका पर्यटकलाई आकर्षण गरेको थियो,’ उनले भने, ‘यसपल्ट आदिवासी जनजातिका संस्काररसंस्कृति जगेर्ना गर्ने र स्थानीय उत्पादन पर्यटकलाई चखाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।’
महोत्सवमा नेवार, मगर, गुरुङ, ब्राह्मणलगायत जातजातिका कला संस्कृति प्रदर्शनीले छुट्टै रौनकता थपेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बताए । उनका अनुसार महोत्सवमा टाकटुके नाच, धिमे नाच, पुतली नाच, मारुनी, कौडा, चुड्का, बालन, लामा नाच, नौमति बाजा, पञ्चे बाजा, डोको नाच, लाखे नाच, घाँटु नाच देखाइएको थियो । साथै पर्यटकलाई स्थानीय उत्पादनको स्वाद पनि चखाइएको थियो ।
नयाँ वर्षका अवसरमा बन्दीपुरको टुँडिखेल, मुख्य बजार क्षेत्र लगायतका ठाउँमा पर्यटकको बाक्लो भीड थियो । बन्दीपुरका होटल, गेस्ट हाउस तथा सामुदायिक होमस्टेहरू पर्यटकले भरिभराउ रहेको होटल व्यवसायी विपिन प्रधानले बताए । उनले भने, ‘पहिलो र दास्रो दिन गरी करिब ७ सय पर्यटकहरू होटलमा कोठा नपाउँदा फर्किएका थिए ।’
नयाँ वर्षको पहिलो दिन होटलमा पुग्ने पहिलो पाहुनाले एउटा कोठा एक रुपैयाँमा पाएका थिए । बन्दीपुरका २९ होटलले पहिला पुग्ने पर्यटकलाई एक रुपैयाँमा बाँस दिएका थिए । त्यस्तै नयाँ वर्षको अवसरमा ३ सय बढी बाह्य पर्यटक आएको पर्यटन विकास समितिका अध्यक्ष प्रधानले बताए । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गर्दछन् । बन्दीपुरमा पर्यटन आकर्षणका लागि थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजनालाई अगाडि बढाइएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट करिब ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायत हिमशृंखला देख्न सकिन्छ । कोलाहलमुक्त शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा बन्दीपुर परिचित छ । कान्तिपुरबाट