बागलुङ। वर्षायामको बाढी पहिराले बिग्रेको मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया खण्डको मर्मत, सुधारमा गलकोट नगरपालिकाले चासो देखाएको छ। पाँच वर्षअघि कालोपत्र भएको सो सडक नियमित मर्मत नहुँदा रुग्ण स्थितिमा रहेको छ।
लोकमार्ग आयोजना कार्यालयले सडक सुधारमा बेवास्ता गरेपछि नगरपालिकाले आफ्नै स्रोतमा सडकको सामान्य मर्मत थालेको हो। २० किमी सो खण्डमा अत्यधिक नयाँ–पुराना पहिराले सडक क्षतविक्षत बनेको छ। सो सडकखण्डको ठाउँपिच्छे यात्रामा जोखिम रहेको छ। नगरप्रमुखले जीर्ण सडकको सुधारमा आयोजना व्यवस्थापनले अनदेखा गरेपछि नगरपालिका आफैँले ममर्तको काम थालेको बताएका छन्। यस सडकको स्तरोन्नतिका लागि पटकपटक माग गरेको भएता पनि सुनुवाइ नभएको उनको भनाइ छ। बृहत् सुधार र संरचना बनाउन नगरको स्रोत, साधनले नभ्याउने भएकाले अति जोखिम भएका ठाउँमा मर्मत सुरु गरिएको हो।
सङ्घ सरकारअन्तर्गतको आयोजना कार्यालय उदासीन बने पनि स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने लोकमार्गको सामान्य मर्मतका काममा पहल लिनुपर्ने आवाज उठ्ने गरेको कारण खाल्डाखुल्डी पुर्ने, पहिरा पन्छाउने र घुम्ती मिलाउने काममा नगरले बजेट खर्च गर्ने नगरप्रमुखले बताएका छन्। अघिल्लो वर्षायाममा भएको अधिक वर्षाले त्यस खण्डमा ठूलो क्षति गरेको थियो। त्यस्तै वडा नं १ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ भने जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा जोखिम बढी रहेको छ। साथै ससाना अवरोध त दर्जनौँ ठाउँमा रहेका छन्। कालोपत्र भएको अर्को वर्षदेखि नै सो सडक बिग्रँदै आएको हो।
वर्षायाममा सडक अवरुद्ध बन्दा तत्काललाई पहिरा पन्छाएर सडक खोल्ने गरिएपछि दीर्घकालीन रुपमा सडक सुरक्षाको काम हुन सकेको छैन। राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र संरक्षणमा सम्बन्धित पक्ष गैरजिम्मेवार देखिएको छ। हटिया, नरेठाँटी बजार हुँदै मर्मतको काम सुरु गरिएको छ साथै घोडाबाँधेसम्म धेरै ठाउँमा मर्मत गर्नुपर्ने अवस्था छ, कतिपय घुम्तीमा ठूला सवारी गुडाउँ नै जोखिमपूर्ण अवस्था छ। तर नगरको सीमित बजेटले धेरै काम गर्न नसकिए पनि यातायात सञ्चालनमा केही सहजता ल्याउने गरी काम भइरहेको वडा नं ३ का अध्यक्षले जानकारी गराएका छन्।
हाल सो सडकको अवस्था नाजुक भएको कारण पुरै सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको आयोजना कार्यालयले जनाएको छ। कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले सडक भासिने, पहिरा जानेजस्ता समस्या निम्तिने गरेको छ। उक्त लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ। घोडाबाँधे–हटिया खण्डमा सबैभन्दा पहिले कालोपत्र भएको थियो। मार्ग खुलेको दुई दशक बित्दासमेत बागलुङ–घोडाबाँधे सडक खण्ड कालोपत्र हुन सकेको छैन। तर हटियादेखि पश्चिम पुग्ने खण्डमा पनि सडक कालोपत्र गरिएको छ।