काठमाडौं। प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले पूर्वाधार निर्माण क्षेत्रको वेतिथि बारे संसदमा ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुले सडक र पूल निर्माण अलपत्र परेको बारेमा जानकारी गराएका हुन्।
सांसद विद्या भट्टराईले सिद्धार्थ राजमार्गअन्तर्गतको छोरेपाटन–बिरौटा सडकखण्ड अलपत्र परेको बारेमा संसदमा जानकारी गराएकी छन्। एक दशमलव आठ किलोमिटर सडक निर्माणका लागि रामसागर विल्डर्सलाई चार वर्षअघि ठेक्का लिएकामा हालसम्म सम्पन्न हुन नसकेको सांसद भट्टराईले बताइन्।
धुलाम्य सडक र निर्माणमा भएको अवरोधले स्थानीयको स्वास्थ्यमा समस्या भएको तथा दैनिकरुपमा आवतजावत गर्न कठिनाइ भएकामा सरकारको ध्यानाकर्षण गराइन्।
सामान्य तुवालोको कारण देखाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीन दिन बन्द भएको बारे समेत भट्टराईले सरकारसँग जवाफ मागेकी छन्।
सांसद बीना लामाले किन्ताङ्फेदी पुल निर्माणमा भइरहेको ढिलाइबारे प्रश्न गरेकी छन् । यस्तै रुबि भ्याली, गङ्गाजमुना र नेत्रावती गाउँपालिकाको सुरक्षाको विषय पनि उनले उठाइन्।
शून्य समयमा बोल्दै सांसद विक्रम पाण्डेले मल खरिदका लागि सरकारले समयमा बजेट नछुटाउँदा र छुट्याएको रकमको पनि बोलपत्र हुन नसक्दा बाली लगाउने बेलामा किसानले मल पाउन नसकेको बताए। रासायनिक मल अभावका कारण कृषि बालीको उत्पादन घट्दा त्यसको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको उनको भनाइ छ।
सांसद विनीताकुमारी सिंहले सिराहामा उत्पादन भएको फलफूल तथा तरकारी व्यवस्थापनका लागि शीतभण्डार बनाउनुपर्ने बताइन्। तराई–मधेशमा हावाहुरीका कारण आगलागीका घटना भएर धनजनको क्षति हुने गरेकाले यसको न्यूनीकरणमा ध्यान दिन उनले सरकारसँग माग गरेकी छन्।
सांसद बिजुला रायमाझीले केही वर्षअघि एकैदिन शिलान्यास गरिएका पालिकास्तरका १५ शय्याका अस्पताल निर्माणबारे सरकारसँग जवाफ माग गरिन्।