काठमाडौं। गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढेको छ । गत वर्षको यहि अवधिको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा विद्युतीय सवारी साधनको आयात बढेको हो।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा २ हजार ४ सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत वर्ष यो अवधिमा १ हजार ४ सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।
विभागको तथ्यांक अनुसार गत चैत महिनामा मात्रै २ सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा १ सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो ।
विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै विद्युतीय सवारी साधन भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट १ सय किलोवाट क्षमताका १ हजार ७ सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।
भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट १ सय किलोवाट क्षमताका ३ सय ८१, दक्षिण कोरियाबाट १ सय किलोवाट क्षमताका २ सय ४०, र इन्डोनोसियाबाट ३ वटा विद्युतीय सवारी साधान आयात भएका छन् ।
यस्तै, दक्षिण कोरियाबाट १ सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, बेलायतबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट २ सयदेखि ३०० किलोवाट क्षमताका ५ वटा र बेलायतबाट २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
समीक्षा अवधिमा भारतबाट मात्रै ४ अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएको विभागले जानारी दिएको छ ।