काठमाडौं। जुम्लाको तातोपानी गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न थालेको छ । हालसम्म भाडाकै घरबाट सञ्चालित तातोपानीले एकीकृत रूपमा छिटो छरितो सेवा प्रवाह गर्न प्रशासकिय भवन निर्माण थालेको हो ।
गाउँपालिकाको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा निःशुल्क रूपमा प्राप्त भइसकेको छ । हाल विषयगत शाखा रहने गरी पालिकाको आफ्नै लगानीमा प्रशासकीय भवन निर्माण हुन लागेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । उनले भने, “अझै सबै विषयगत शाखा भाडाकै घरमा सञ्चालित छन् । पेस नेपालले निर्माण गरेको भवनलाई कार्यालय प्रयोजनका रूपमा प्रयोग गरेका छौं ।
जहाँ अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, लेखा, प्रशासन, योजना, प्राविधिक शाखा सञ्चालित छन् । तर अन्य पालिकामा निर्माण भएका पेसका भवन प्रयोगमा छैनन् ।” अझै कृषि, शिक्षा, पशु, महिला तथा बालबालिका, स्वास्थ्य, उद्यम विकासलगायतका शाखा भाडाकै घरमा सञ्चालित छन् । विषयगत शाखा छरिएर बसेका छन् । तर नागरिक एकै ठाउँमा एकीकृत रूपमा छिटो सेवा पाउन चाहान्छन् । त्यसैले संघ प्रदेशबाट विनियोजित भएका सपूरक योजनाबाट घटीघटाउ भई बचेको बजेटबाट भवन निर्माण थालिएको प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिए ।
उनका अनुसार तल्लो तलाको ढलान तथा दोस्रो तलाको हवाई ढलानसहित ४० लाख लगानीमा पक्की भवन निर्माण हुनेछ । आगामी आर्थिक वर्षबाट नयाँ भवनमा विषयगत शाखा सर्ने गरी जग्गा दान गरेका नागरिकहरू लाभान्वित हुने गरी उपभोक्ता समितिमार्फत् काम भइरहेको छ । गाउँपालिकाका नाममा तातोपानी–३ का स्थानीयबाट २३ सय ७२ वर्गमिटर राजीनामा पास भइसकेको छ भने ११ सय ३८ वर्गमिटर जग्गा मन्त्रिपरिषद्बाट स्वीकृत प्राप्त भई राजीनामा पास हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत कठायतले उल्लेख गरे ।
समपूरकका शीर्षकका योजनाअन्तर्गत गौतमबाडा ग्रामीण सडक पिपिसीमा संघको ५५ लाख र गाउँपालिकाको ५५ लाख, लाछुज्युला तटबन्ध गापाको ५० लाख र संघको ५० लाख र टोप्ला–गाग्री ओडार सडकमा प्रदेशको ५३ लाख ८५ हजार र ५३ लाख गाउँपालिकाको म्याचिङ फन्ट लगानीमा काम भइरहेको छ । तीन योजनालगायत अन्य दर्जनौ योजना संघ प्रदेश र स्थानीय तहको म्याचिङ फन्टबाट सञ्चालित छन् । घटीघटाउबाट बचेको तथा अपुग बजेट कन्टिजेन्सीबाट भवन निर्माणमा खर्चिने छ ।
पाँच वर्षे कार्यकालमा सबै विषयगत शाखा एकै भवनमा सञ्चालन हुने गरी आफ्नै प्रशासकीय भवन निर्माण गरेरै छाड्ने तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंले दाबी गरे । आवश्यक जग्गा प्राप्त भइसकेको छ । उनले भने, “पहिलो चरणमा एक तला ढलान र दोस्रो तला हवाई ढलानको भवन बनाउँदै छौं । अर्कोबाट संघीय सरकारसँग भवन निर्माणका लागि बजेट माग गरी ठूलो संरचना बनाइने छ ।” उपभोक्ता समितिले सम्झौताअनुसार वैशाख मसान्तमै सकिने गरी धमाधम काम गरिरहेका छन् । कारोबार दैनिकबाट