खलंगा। पुल निर्माणको ज्याला नपाएको भन्दै स्थानीय मजदुरले झोलुंगे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुंगे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाएपछि पुल बन्द गरेका हुन् ।
गाउँपालिकाको दुई करोड १० लाख रुपैयाँ लागत रहेको तीन सय ९० मिटर लम्बाइको उक्त पुल २०७६ मा निर्माण सुरु भएको थियो ।
दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समयसीमा रहेको उक्त पुलमा अहिले पनि लोड टेस्टलगायत काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी बाँकी रहेको दुहुँ–१ का वडाध्यक्ष जितबहादुर बमले बताए । पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटि भेटिएको र पुलको छेउतिरको एक लट्ठा खुस्किएको अध्यक्ष बमले बताए ।
पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष भएको छ । ठेकेदार कम्पनीले श्रमिकको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकले शुक्रबारदेखि पुल बन्द गरेको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताए । पटक–पटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाएपछि पुल बन्द गर्नुपरेको मजदुरको भनाइ छ । झोलुंगे पुलको दुवैतिर तारजाली र जस्तापाता लगाएर बार लगाइएको छ । पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलंगा आउने र गाउँपालिकाको कार्यालय जाने यात्रुलाई दुई घण्टा घुमाउरो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय नवीन जोशीले गुनासो गरे ।
निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्स्ट्रक्सनले श्रमिकको ज्याला अझैसम्म नदिनुको कारण भने खुलेको छैन । निर्माण कम्पनीको अन्तिम चरणको भुक्तानीसमेत लिन बाँकी रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । दुहुँ–१, २ र ५ का स्थानीयले उक्त पुल निर्माणको समयमा मजदुरी गरेका थिए । निर्माण सम्पन्न भइसकेको अवस्थामा मजदुरको ज्याला नदिई ठेकेदार कम्पनी सर्म्पकविहीन भएको स्थानीय नरेन्द्र जोशीले बताए । काम गरेको ज्याला पाउनुपर्ने भन्दै गाउँपालिका र प्रशासनमा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि पुल ठप्प पारेका हुन् । मजदुरसँगै पसल धनी र ट्र्याक्टर व्यवसायीसमेतले पैसा पाएका छैनन् ।
‘पहिलेदेखि नै हामीले ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोजेका हौं, उहाँहरू सम्पर्कमा आउनुभएन,’ गाउँपालिकाका पूर्वअध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । पीडितले दिएको उजुरीका आधारमा ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । ‘पुल पालिकालाई हस्तान्तरणसमेत भएको छैन, पुल सञ्चालनको अनुमति नै छैन, त्यहाँ आवतजावत नगर्न हामीले पनि आग्रह गरेका छौं, पुलको लोड टेस्टसमेत भएको छैन,’ अधिकारी जोशीले भनिन् । पुल निर्माण भइसके पनि कम्पनीले गाउँपालिकालाई हस्तान्तरण नगरेको गाउँपालिकाका प्रवक्ता देवबहादुर बमले जानकारी दिए । कान्तिपुरबाट