हुम्ला। हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा चार वटा पक्की पुल अहिलेसम्म अधुरै रहेको छन्। २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल अधुरै रहेका हुन्।
निर्माण कम्पनीको लापरबाहीका कारणले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन् । यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै सवारीसाधन चल्दै आएका छन् । पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षा याममा जोखिमपूर्ण यात्रा गर्नुपरेका स्थानीयले बताए।
निर्माण कम्पनीको चरम लापरबाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीयले विरोध गरेका छन् । चार पुल दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माणमा संलग्न ठेकेदारले बेला–बेलामा म्याद थप गर्दै रकम भुक्तानी भने लिने गरेका छन् ।
ठेकेदारले विभिन्न बहाना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएका छन् । नाम्खा–१ स्थित हेप्का खोलामा पक्की पुल रु १० करोडको लागतमा निर्माण हुन लागेको छ वर्ष पुगेको छ भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौँले पाएको थियो । विसं २०७४ साउनमा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्का खोला पुल ६ वर्षसम्म अधुरै छ ।
यस्तै ताग्रु खोला पुलको पनि काम हुन सकेको छैन । नाम्खा–४ मा पर्ने सल्ली खोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले रु नौ करोड ३३ लाखमा लिएको थियो । उक्त पुल पनि अधुरै छ । सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले रु चार करोड १६ लाखमा लिएको जिम्मा लिएको भए पनि काम अधुरै छ ।
यस्तै नाम्खा गाउँपालिका–६ लिमीमा पर्ने टाक्ची र लिङखोलाको मोटरेबल पुल निर्माणको जिम्मा अर्जुन महताराले रु एक करोड ३५ लाखमा लिएका थिए । महताराले पनि काम अधुरो बनाउँदै आएका छन् । हिमपात, बाटो अवरुद्धलगायतका समस्या देखाएर काम ढिलाइ गरेका छन् । पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमन्टेलगायतका सामग्री ल्याउन समस्या भएकाले निर्माणमा ढिलाइ भएको हिल्सा–सिमिकोट सडक योजना कार्यालयले जनाएको छ। सबै पुल निर्माणका लागि यही असारसम्मको म्याद रहेको छ ।