काठमाडौं। पर्सा जिल्लाको ग्रामिण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदी माथिको पुल निर्माण कार्य सुचारु हुने भएको छ। ठेकेदारको लापरवाहीका कारण विगत ७ महिनादेखि अलपत्र परेको पुल निर्माण कार्य सुचारु हुने बताइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको ठेकेदारसहितको सर्वपक्षिय बैठकले विगत ७ महिनादेखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य मंगलवार बिहानैदेखि सुचारु गर्ने सहमति गरेको हो।
बैठकमा रोकिएको पुलको निर्माण कार्य मंगलवारदेखि नै सुचारु गर्ने र चैत मसान्तभित्र निर्माण कार्य सक्ने सहमति भएको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए। बैठकले सर्वपक्षिय टोलीले पुल निर्माण कार्यको समय समयमा अनुगमन गर्ने सहमति पनि गरेको छ।
यस्तै, पुल छेउमा मंगलबार बिहान ८ बजेदेखि डाइभर्सन निर्माणको काम पनि सुरु गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिए। तिलावे नदीमा अहिले रहेको पुरानो फलामे पुलमा हरेक दिन बिहान र साँझ लाग्दै आएको ट्राफिक जामको समस्या हटाउन त्यसको व्यवस्थापन नेपाल प्रहरी र ट्राफिक प्रहरीले गर्ने सहमति पनि भएको पौडेलले बताए।
वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा पर्ने तिलावे नदीमा ३ वर्ष भित्रै बन्नु पर्ने पुल अहिले ६ वर्ष बितसक्दा पनि बन्न नसक्दा पर्सा जिल्लावासीले सास्ती खेप्दै आएका छन्। त्यहि कारण पर्साका सचेत युवाहरुको सकृयतामा गठित तिलावे पुल निर्माण दबाब समु्हले विगत १ महिनादेखि तिलावे पुलको निर्माण कार्य सुचारुको माग गर्दै दबाब मुलक आन्दोलन गर्दै आएको थियो।
युवाहरुको दवाव मुलक आन्दोलनका कारण सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षिय बैठकले अलपत्र रहेको पुलको निर्माण कार्य सुचारु गर्ने निर्णय गरेको हो। २०७२ जेठ २५ मा पप्पु।लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमा बनाउने गरी तिलावे खोला पुलको ठेक्का सकार गरेको थियो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका अनुसार सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर ठेकेदार कम्पनिले पटकपटक म्याद थप गराउँदै आएको थियो। पछिल्लो पटक थपिएको ठेक्काको म्याद पनि गत भदौ ६ मा सकि सकेको छ। तर हालसम्मको पुलको भौतिक प्रगति ६७ प्रतिशत मात्र रहेको छ।