काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होटल क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रमा देखिएका समस्याबाट नआत्तिन व्यवसायीलाई आग्रह गरेका छन्।
होटल सङ्घ नेपाल (हान)को ४८औं वार्षिक साधारण सभामा उनले समस्याबाट नडराउन र परिस्थिति सुध्रनेमा ढुक्क रहन आग्रह गरे । उनले भने, “तपाईं व्यवसायी समस्याबाट नडराउनुस् म तपाईंहरूकै साथमा छु, चिन्ता गरेर होइन समाधानको पहल गरेर सफलतातिर अघि बढ्न सकिन्छ ।”
कोरोना महामारीले नराम्ररी थलिएको होटल क्षेत्रका समसामयिक समस्या व्यवसायीले राखेपछि पर्यटनमन्त्री किरातीले सरकारले व्यवसायमैत्री सेवा सहजीकरण र नीतिगत सुधारका लागि पहल लिएकाले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न आग्रह गरे।
पर्यटनमन्त्री किरातीले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधारको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि नीतिगत सुधारदेखि योजनाबद्ध कार्यक्रम अघि बढाइने विश्वास दिलाए । उनले व्यवसायमैत्री समय सापेक्ष ऐन नहुँदा लगानीकर्ताले निकै सास्ती बेहोर्नुपरेको भन्दै ऐन कानुन एकद्वार प्रणालीको हुनुपर्नेमा जोड दिए।
मन्त्री किरातीले पर्यटनको महत्त्वपूर्ण पाटोको रूपमा रहेको होटल क्षेत्रको विकासका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गरे । उनले तराईका ठूला विमानस्थलमा एटिआर जहाज सहज रूपमा सञ्चालन गर्न, विभिन्न विमानस्थलबाट भारतका गन्तव्यमा सहज उडान गर्न र अन्य साना विमानस्थलको स्तरोन्नति गर्न मन्त्रालय लागि परेको जानकारी दिए।
“प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडेर लैजानुपर्छ, विश्वले फोटोकपी गर्न नसक्ने सगरमाथा र गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमै छन्, यीलगायत अन्य सम्पदाको संरक्षण र प्रवर्द्धन गरी पर्यटक आकर्षण गर्न सकिन्छ”, पर्यटनमन्त्री किरातीले भो । उनले पर्यटन क्षेत्रका नयाँ आयामको खोजी गरी बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने कार्यक्रम जरुरी रहेको उल्लेख गरे ।
हानका निवर्तमान अध्यक्ष सिर्जना राणाले ठूलो लगानी भएको होटल क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिलाउन पहल गरिदिन पर्यटन मन्त्रीसमक्ष अनुरोध गरे । हानका नवनिर्वाचित अध्यक्ष विनायक शाहले होटल क्षेत्रका विद्यमान समस्याको समाधानका लागि पहलकदमी गर्नु आफ्नो पहिलो दायित्व हुने उल्लेख गरे ।
हानका महासचिव साजन शाक्यले होटल व्यवसाय सञ्चालनमा भइरहेका समस्या र आगामी सम्भावनाबारे बताएका थिए।