काठमाडौं। प्रदेश सरकारहरु छोटो–छोटो समयमा फेरबदल भइरहे पनि प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माणका कामले भने गति लिएको छ। संघीय राजधानी काठमाडौंमा आउँदा मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको कार्य सम्पादन सहज बनाउने उद्देश्यले निर्माण शुरु भएको सम्पर्क कार्यालय भवनको काम तीव्र गतिमा अगाडि बढेको हो।
सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम हालसम्म ६८ प्रतिशत सम्पन्न भएको छ। सरकारले मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको भैंसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको बाँकी काम समयसीमाभित्र नै सम्पन्न गर्ने जनाएको छ।
आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले तोकिएकै समयसीमाभित्र काम सम्पन्न गराउने गरी काम भइरहेको बताउनुभयो। उहाँले स्टक्चर निर्माणको काम सबै सम्पन्न भएर हाल रंगरोगनको काम अगाडि बढेको जानकारी दिनुभयो। निर्माण गरिएको प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखले प्रयोग गर्ने गरी निर्माण गरिएको छ।
शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनामार्फत निर्माण भइरहेका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास एवं सम्पर्क कार्यालय भवन २७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको छ।
सरकारले मूलुक संघीयतामा गएपनि सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेशका संघीय राजधानी आउँदा सम्पर्क कार्यालयको रुपमा भवन निर्माण गरेको हो। दुई तलाको भवनमा पूजाकोठादेखि योगकक्षसम्म बनाइएको छ। भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल बनाइएको छ।
२०७५ सालको मंसिर १७ गते मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख, मुख्यमन्त्रीको सम्पर्क कार्यालय र आवास निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शहरी विकास तथा भवन विभागले आवास निर्माण अघि बढाएको हो।