सुर्खेत। कर्णालीका १५ स्थानीय तहमा लागू भएको स्थानीय पूर्वाधार सहयोग कार्यक्रम कर्णाली पाइलट कार्यक्रममा सबैलाई जाजरकोटको बारेकोट गाउँपालिकाले उछिनेको छ ।
विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (कर्णाली पाइलट) कार्यक्रम सञ्चालन भएका जिल्लामा पूर्वधार निर्माणमा बारेकोट गाउँपालिका अगाडी देखिएको छ । बारेकोट गाउँपालिकाले चार वटा योजना माग गरि कामको सुरुवात गरेको थियो । उक्त माग गरिएको कार्यक्रममा १५ स्थानीय तह मध्ये बारेकोटले सबै भन्दा अगाडी काम सकेर पहिलो भएको कार्यक्रमका शैलेश शर्माले जानकारी दिए ।
बारेकोट गाउँपालिका ४ दहमा जडीबुटी संकलन केन्द्र , वडा नम्बर ५ मा राजुरा शीर्षदेखि बालुवासम्म तटबन्ध, वडा नम्वर ३ मा गाग्राखोला जलविद्युत आयोजनाको कुलो निर्माण र वडा नम्बर १ मा फडका खोला जलविद्युत आयोजनाको कुलो निर्माण गरिएको थियो । पालिकाको मागमा आधारित जलवायू परिवर्तन उत्थनशील कार्यक्रम रहेको रहेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए ।
कार्यक्रमबाट निर्माण भएका योजनामा काम गर्ने मजदुरको ज्याला मजदुरकै खातामा सिधै जम्म गरिने नियम रहेको छ । गाउँपालिकाले ४५ लाख म्याचिङ गरेको थियो भने कार्यक्रमले १ करोड ३८ लाख ११ हजार १४१ रुपैयाँ सर्पोट गरेको छ ।
बारेकोट गाउँपालिकाले तोकिएको समय अगाबै योजना सम्पन्न गर्नका लागि गम्भिरता पूर्वक लिएका कारण सम्भव भएको कार्यक्रमका शैलेश शर्माले बताए । पालिकाले तोकिएका आयोजनाहरु सम्पन्न गर्नका लागि सामुहिक प्रयास, प्राथमिकता प्राप्त आयोजनाहरु छनौट गर्नु, काममा संलग्न कर्मचारीहरुको सक्रिय तथा कार्यसम्पादन क्षमता, उपभोक्ता समिति तथा कामदारहरुलाई निर्माण पूर्व आयोजना कार्यान्वयन सम्बन्धि विस्तृत अभिमुखिकरणले समेत भारी विकास भएको गाउँपालिकाले जनाएको छ ।
यो कार्यक्रम जाजरकोटमा बारेकोट, नलगाड, सल्यानमा दार्मा, दैलेखस् दुल्लु, सुर्खेतः सिम्ता र भेरीगंगा, कालीकोटः रास्कोट र शुभकालिका, जुम्ला तिला, मुगुः सोरु र मुगूम कार्मारोङ , हुम्लाको ताजाकोट, सिमकोट र खार्पुनाथ, डोल्पाको शे फोक्सुन्डोमा यो कार्यक्रम लागू भएको छ । सबै पालिका भन्दा बारेकोट गाउँपालिकामा ९८ प्रतिशत काम सम्पन्न भएकाले बारेकोट अग्र स्थानमा रहेको पाइएको छ ।
यो कार्यक्रमले पालिकासँग मिलेर काम गर्ने मजदुरलाई बैंक खातामार्फत भुक्तानी, स्थानीय मर्मत सम्भार कोषको व्यवस्थापन, पालिका केन्द्रित खरिद विधिको अवलम्बन, स्थानीय पूर्वाधार सँग सम्बन्धित कार्यविधी तथा निर्देशिका निर्माण तथा कार्यान्वयन, आयोजना छनौटमा प्राथमिकिकरण विधिको उपयोग, अनुगमन तथा निरीक्षण चेकलिष्टको प्रयोग, आयोजनाको विस्तृत सर्भे, डिजाइन तथा लागत स्टिमेटको शुरुवात, बेरोजगार सुचीमा सुचिकृत घरधुरीहरुमध्येबाट कामदारहरु छनौट हुने गरेको छ ।