काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालय परिसरमा सात सय ५० सिट क्षमताको सभाहल निर्माण हुने भएको छ। शुक्रबार उक्त सभाहल निर्माणका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले शिलान्यास गरेका हुन्।
विश्वविद्यालय परिसरमा बन्न लागेको सात सय ५० सिट क्षमताको सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नबिल बैंकको शाखा कार्यलयको पनि शिलान्यास गरिएको छ । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सभाकक्ष बनाइदिन लागेको हो।
सभाकक्ष र बैंकको शाखा कार्यलयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपति अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरूलाई बढी राजनीतिकरण गरिएको बताएका छन्। राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृति आएको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनीति गर्दा विश्वविद्यालयलाई घाटा भइरहेको बताए ।
अन्य देशमा राजनीतिक व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी बनाउने परिपाटी नरहेको उल्लेख गर्दै मन्त्री राईले नेपालमा पनि यसलाई बिस्तारै कम गर्दै लैजाने बताए । आफू मन्त्री बनेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको उनले बताए ।
अहिले पनि शिक्षा क्षेत्र सुधारका लागि कतिपय ऐन कानुन बन्न नसकेकाले आउँदो अधिवेशनमा रोकिएका ऐनलाई पेश गर्ने मन्त्री राईले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा धेरै विश्वविद्यालयमा समस्याको चांङ रहेको तर पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले समस्या भन्दापनि धेरै उपलब्धि हासिल गरेको आफूले पाएको उनले बताए ।