काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका नाम्सापुराण गुम्बामा मूर्तिको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महतले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्।
उनले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताउँदै थोरै स्रोत र आम्दानीलाई देशैभर विकास निर्माणमा पुर्याउनुपर्ने बाध्यता रहेको बताए।
उनले भने, ‘‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ। यो थोरै आम्दानीलाई देशैभरको विकास निर्माणमा पुर्याउनुपर्ने हुन्छ। स्रोतको समस्या छ, यसका बाबजुद जे सम्भव हुन्छ, मबाट काम हुनेछ।’
‘दुप्चेश्वर गाउँपालिकामा केही समय अगाडि कुनै पूर्वाधार थिएन। पुल, सडकलगायतका विविध पूर्वाधारको विकास भएको छ, शिवपुरी क्षेत्रमा व्यापक विद्युतीकरण भएको छ,’ उनले भने, ‘‘अहिले पनि यहाँको विकास निर्माण, जनताको आवश्यकता, बाह्रै महिना चल्ने बाटो निर्माण हो, अप्ठ्यारो पर्दा, बालबालिकालाई स्कुल जाँदा कुनै समस्या नआओस् भन्ने हो, त्यसैले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ।’’
‘अहिले यहाँ दुईवटा महत्त्वपूर्ण बाटो निर्माण भएका छन्। प्रदेश सरकारको लगानीमा सिधै राजधानी काठमाडौं–खोले गाउँ–महाकाली हुँदै दुप्चेश्वर जोडिदैछ। ट्र्याक जोडिसकेको छ, अब पक्की बाटो बन्दैछ। केन्द्र सरकारको लगानीमा गँगटे त्रिशूलीदेखि नै गोल्फु भन्ज्याङसम्म जाने बाटो बनेको छ’’, अर्थमन्त्री महतले भने।
बाटोसँगसँगै शिक्षा, स्वास्थ्य, खेलकुद र विकासको आवश्यकता रहेको उनको भनाइ छ। उनले आवश्यकता बजेटले भ्याएसम्म काम गर्दै जाने बताए।