तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भएको छ।
पालिकाले सम्झौताअनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारबाही गर्ने तयारी गरेको हो।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउने बताए। उनले समयमा काम सम्पन्न नगर्ने, अलपत्र पार्ने तथा गुणस्तरीय काम नगर्ने कम्पनीलाई धरौटी जफत गर्ने तयारीमा लागेको समेत बताए। त्यस्ता निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यलयमा सिफारिस गर्नेजस्ता प्रक्रिया पनि अगाडि बढाएको उनको भनाइ छ।
उनले एक पटक काम सञ्चालन गर्न आग्रह गर्ने र आलटाल गरे नियमानुसार कारबाही गर्ने चेतावनी दिएका छन्।
बन्दीपुरमा कुसुम कन्स्ट्रक्सन, कस्यप निर्माण सेवा, धर्म एण्ड कस्यप जेभी र खड्गदेवी कन्स्ट्रक्सनले निर्माणसम्बन्धी कामलाई अलपत्र पारेको गाउँपालिकाले जनाएको छ।
यी निर्माण कम्पनीले क्रमशः बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित चिस्यान केन्द्र, डुम्रे बन्दीपुर सडक, मुकुन्देश्वरी पदमार्ग (मिनिग्रेटवाल), बन्दीपुर बाहुनभञ्ज्याङ धरमपानी सडक, वडा नम्बर २ को कार्यालय भवन ठेक्का लिएर अलपत्र पारेको बताइएको छ। ती कम्पनीलाई समयमै काम सम्पन्न गर्न पटक–पटक आग्रह गर्दा पनि काम गरेका छैनन्।