काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ ।
विना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरुले नपाउने भयो भने त्यस्तो अवस्थामा विद्रोह हुन्छ । पक्षपातरहित ढंगले विकासको समानुपातिक वितरण आवश्यक छ ।’
विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिँदै उनले सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले विनापक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुने बताए ।
तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उनले आग्रह गरे ।
२०५४ सालमा पोखरा बागलुङ सडक मात्रै रहेको अवस्थाको चर्चा गर्दै तत्कालीन जिल्ला विकास समिति पर्वतमा सभापति भए पनि आफ्नै गाउँमा सडक बनाएर र अरु गाउँमा सडक उद्घाटन गर्दै छ भनेर आरोप लागेको उनले स्मरण गरे ।
‘आफू तत्कालीन जिविस सभापति हुँदा कार्यकालको अन्तिम वर्ष मात्रै गाउँ आउने सडकका लागि बजेट विनियोजन गरेको थिएँ,’ अध्यक्ष तिमिल्सिनाले भने ।
पर्वत जिल्लाका सबै वडा कार्यालयहरु सम्म पुग्ने सडकहरु कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनौट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई पनि धैर्यता गर्न आग्रह गरे ।