काठमाडौं। नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। उक्त पुल निर्माण तोकिएको समय अवधी भन्दा १४ महिना अगावै सम्पन्न भएको हो।
दोर्खुखोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण तोकिएको समय भन्दा १४ महिना अगावै सम्पन्न भएको छ। उक्त पक्की पुलको बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन्।
२४ महिनामा पूरा गर्नुपर्ने काम जिम्मेवारी पाएको १० महिनामा नै सम्पन्न गर्न सफल भएको जयविष्णु निर्माण सेवा कम्पनीले बताएको छ। पुल निर्माण गर्न ठेक्का लगाएको पूर्वाधार विकास कार्यालयका अनुसार छ करोड ९९ लाख ३९ हजार रुपैयाँमा ठेक्का दिएको पुलको निर्माण व्यवसायीलाई पाँच करोड ६२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ।
तोकिएको समयमा निर्माण सम्पन्न नभएका धेरै आयोजनाहरुको विभिन्न समाचार आईरहेको समयमा समय अवधी भन्दा १४ महिना अगावै पुल निर्माण सम्पन्न गर्नु निर्माण व्यवसायीहरुको लागि एउटा गौरवको बिषय पनि हो। समयमा निर्माण सम्पन्न भएन भनेर कतिपय निर्माण कम्पनीहरुको ठेक्का तोडिने, कालोसूचिमा राखिने गरेको पाईन्छ। तर, समयमा निर्माण सम्पन्न नहुँनुमा निर्माण व्यवसायीको मात्र गल्ती हो त? दोर्खुखोलामा पक्की पुल निर्माण गर्न छ करोड ९९ लाख ३९ हजार रुपैयाँमा ठेक्का लगाएको थियो। तर, पाँच करोड ६२ लाख रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी दिन बाकी नै रहेको ठेक्का दिने पूर्वाधार विकास कार्यालयले बताएको छ। ठेक्का लिएको जम्मा रकमबाट एक करोड ३७ लाख लागतमा तोकिएको समय भन्दा १४ महिना अगाडी पुल निर्माण सम्पन्न गरिएको छ।
निर्माण कम्पनीले समयमा काम नगर्नुमा सधै निर्माण कम्पनीको मात्र गल्ती नभई निर्माणको ठेक्का लगाउने सरकारी निकाएको पनि गल्ती हुने गर्दछ। जस्तैः समयमा भुक्तानी नदीनु, आवस्यक निर्माण समाग्रीको अभाव हुनु, निर्माण समाग्री ढुवानी गर्नको लागि यातायातको सुविधा नहुनु, स्थानीयको विरोध, बर्खाको समयमा काम गर्न नसक्ने ठाउँ लगाएतका धेरै कारणहरु हुने गरेको पाईन्छ। कसैले कसैलाई दोष दिनुको सट्टा सरकारी निकायदेखि निर्माण व्यवसायी सबैले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने असम्भव भने केही छैन।
जयविष्णु निर्माण सेवाले आफूले सम्झौता गरेको अधिकांश ठेक्का तोकिएको समय भन्दा अगाडी नै सकेर विभिन्न सार्वजनिक निकायबाट सम्मान र बोनस पाउँदै आएको छ। २०७९ फागुनमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको एफक्यान एक्सिलेन्स अवार्डमा समेत तोकिएको समय भन्दा अगावै निर्माण सम्पन्न गरेका कारण महासंघले जयविष्णु निर्माण सेवालाई पुरस्कृत गरेको थियो। यसै गरी कामको सही मुल्याङ्कन गरी निर्माण व्यसायीलाई सम्मान गर्ने हो भने थप काम गर्न अझ उल्साह मिल्ने बुझिन्छ।