काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनलाई वेवास्ता गरेर विकास कार्य सम्भवन नहुने बताएकी छन्। जलवायु परिवर्तनका सम्बन्धमा विभिन्न व्यक्तित्वहरुबीच गरिएको २ दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डंगोलले जलवायु परिवर्तनलाई वास्ता गरिएन भने विकासका लागि गरिएका प्रयासहरुको सकारात्मक नतिजा नआउने दाबी गरेकी हुन्।
उनले भनिन्, ‘हामीले जलवायुमा असर हुने खालका काम गरेका छैनौँ । तर, असर भोगिरहेका छौँ । महामारी, रोगव्याधी, खडेरी, अतिवृष्टि जस्ता समस्या जलबायु परिवर्तनका असर हुन् । सवारी साधनको बढ्दो प्रयोगबाट हुने कार्वन उत्सर्जनलाई कम गराउन अब विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्छ । पेट्रोलियम उर्जाको सट्टा नविकरणीय उर्जाको प्रयोग बढाउनु पर्छ । हामी अहिले आगामी आर्थिक वर्षको नीति कार्यक्रमको चरणमा छौँ । यसलाई ध्यान दिनेछौँ ।’
वातावरणीय क्षेत्रमा जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको कारणमा नेपालको योगदान छैन तर असर भोगिरहेको छ । बाढी, पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो, अति गर्मी प्राकृतिक रुपमा बढिरहेका जोखिम हुन् । यी जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटन लगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकुलन गराउने विषयलाई सम्बोधन गर्नु पर्ने भएकोले वातावरण व्यवस्थापन विभागले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।