बागलुङ। गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाउँदा चुहिएको स्वास्थ्यचौकी ठेकेदारले भत्काएर फेरि बनाएका छन् । जैमिनी नगरपालिका ८ को छिस्ती स्वास्थ्यचौकीमा गुणस्तरहीन सामग्री प्रयोग भएको र चुहिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेको थियो । अख्तियार पत्र काटेर उक्त भवनको अनुगमन गर्न सघन सहरी तथा भवन निर्माण आयोजनालाई पत्रसमेत पठाएको थियो ।
गत वर्षको उक्त पत्रपछि ठेकेदार सम्पर्कमा आएर चुहिने ढलान फालेर पुन ढलान गरेका हुन् । गत वर्ष उक्त भवनको छत चुहिएको थियो । चुहिएको स्थानमा खोस्रेर हेर्दा बोरा र माटोसमेत भेटिएको थियो । ठेकेदारबाट मर्मत गरेपछि मात्रै भवन उद्घाटन गर्न स्थानीयले माग गर्दा गर्दै जबरजस्ती उद्घाटन गरिएपछि भवनको विवाद झन् बढेको थियो । ठेकेदारको खोजी नगरी भवन निर्माण डिभिजन कार्यालयको प्राविधिक मूल्यांकनको आधारमा भवन हस्तान्तरण र उद्घाटन भएको थियो ।
अख्तियारको पोखरा कार्यालयले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङलाई पत्र लेखेर कागजात मगाएको थियो । ‘अख्तियारले चासो राखेपछि हामीले पनि गुणस्तरको खोजी गरेका थियौं,’ इन्जिनियर प्रविणप्रताप अधिकारीले भने, ‘केही कमजोरी भएको देखिएपछि ठेकेदार बोलाएर काम गर्न लगायौं ।’ ठेकेदारले पहिलेको ढलान भत्काएर नयाँ काम गरेका छन्, देखियो ।’ गत वर्ष आयोजनाको कार्यालय बागलुङमा स्थापना भएको थियो । यो कार्यालयले बागलुङसहित पर्वत र म्याग्दीमा काम गर्न थालेको छ ।
‘जग्गा छनोटदेखि ठेक्काका काम गर्दा धेरै कमीकमजोरी हुँदा भवनहरू गुणस्तरहीन भएको देखियो,’ अधिकारीले भने, ‘चालु वर्ष काम सुरु हुने कतिपय स्थानमा हामीले अध्ययन गरेर रोकेका छौं ।’ प्राविधिकले नियमित अनुगमन र रेखदेख गरेमा गुणस्तरीय भवन बनाउन लगाउने उनले बताए ।
स्वास्थ्य चौकी इन्चार्ज सूर्यप्रसाद महताराले तीन वर्षसम्म चुहिएको भवनमा बस्न बाध्य भएको बताए । ‘अब त चुहिँदैन होला,’ उनले भने, ‘पानी चुहिएर कतिपय संरचना जीर्ण भइसकेका छन् ।’ बिरामी जाँच्ने कोठामा पनि पानी चुहिएर छाता ओडेर उपचार गराउनसमेत बाध्य भएको उनले टिप्पणी गरे । बागलुङका अधिकांश स्वास्थ्य चौकी भवन गुणस्तरहीन भएको टिप्पणी भइरहेका छन् । कतिपय भवनको अहिले पनि राष्ट्रिय सर्तकता केन्द्रले अनुसन्धान गरिरहेको छ ।
बागलुङकै सिगाना, तित्याङ, ग्वालीचौर, हटियालगायत स्वास्थ्य चौकीसमेत गुणस्तरहीन भएको टिप्पणी भएको छ । अधिकांश भवन चुहिने गरेको स्वास्थ्य संस्थाका प्रमुखले बताए । ‘हेर्दा राम्रो छ, तर भवन चुहिन्छ,’ सिगाना स्वास्थ्य चौकीका प्रमुख नारायण शर्माले भने, ‘कागजात सुरक्षित राख्न पनि गाह्रो भएको छ ।’ बाहिरी आवरण राम्रो भए पनि गुणस्तरहीन भएकाले स्वास्थ्य संस्थामा बसेर काम गर्न कठिन भएको उनले बताए ।
बागलुङमा अघिल्लो वर्षमात्रै गुणस्तरहीन भएको, आर्थिक पारदर्शीता नभएको लगायतका ५६ वटा उजुरी अख्तियारमा परेका थिए । तीमध्ये बागलुङ नगरपालिकामा मात्रै २३ मुद्दा थिए । ढोरपाटन नगरपालिकामा ८, जैमिनी नगरपालिकामा ६ र ताराखोला गाउँपालिकामा ५ तथा अन्य सरकारी कार्यालयमा १४ मुद्दा परेको तथ्यांक छ । कान्तिपुरबाट