रामेछाप। रामेछाप विमानस्थलबाट काठमाडौंका लागि सातामा एक दिन उडान भर्न निजी वायुसेवा कम्पनीहरुले परिवर्तित उडान तालिका नेपाल नागरिक उडड्यन प्राधिकरणमा पेश गर्ने भएका छन् । विमान कम्पनीले जेठ १८ पछिको उडान तालिकामा रामेछापको उडान समेत समेट्नु पर्ने गरी सहमति भएको छ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरसहित प्राधिकरणका शीर्ष अधिकारी र वायुसेवा कम्पनीका प्रतिनिधि समेतको उपस्थितिमा मंगलबार काठमाडौंमा भएको बैठकमा त्यस्तो सहमति भएको हो । यसअघि रामेछाप विमानस्थलमा जहाज राखेर लुक्लाका लागि व्यावसायिक उडान गर्दै आएका सीता, तारा र समिट एयरले सातामा कम्तिमा एक उडान काठमाडौंका लागि गर्ने गरी परिवर्तित उडान तालिका बनाउने सहमति भएको हो । उक्त सहमति अनुसार आगामी जुन महिना देखिको उडान तालिकामा काठमाडौं–रामेछाप–काठमाडौं उडान समेत समावेश हुने भएको छ ।
यसअघि रामेछाप विमानस्थलबाट काठमाडौंका लागि उडान माग गर्दै आए पनि विमान कम्पनीहरुले नाफामुखी क्षेत्र लुक्लाको उडानलाई मात्र ध्यान दिएका थिए । बारम्बारको प्रयास असफल भएपछि रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछापका नागरिकलाई सुविधा दिने गरी उडान नराखे लुक्लाको उडान समेत हुन नदिने चेतावनी दिएपछि विमान कम्पनी रामेछाप – काठमाडौं उडानका लागि केही लचक भएका हुन् ।
यसैबीच जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीको अध्यक्षतामा बिहीबार जिल्ला समन्वय समितिमा भएको छलफलमा रामेछापबाट काठमाडौंका लागि सातामा एक उडान गर्दा जिल्लाबासीले सहज यात्रा गर्न पाउने भन्दै सो कार्यमा सहयोग गर्न वायुसेवा कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरे । हुँदैन, चल्दैन, यात्रु हुदैनन् भन्ने भन्दा पनि हुन्छ, चल्छ, हामी चलाउछौं भन्ने सकारात्मक कुरा गरेर यात्रु आकर्षित हुने प्याकेज ल्याउनका लागि सहभागीहरुले जोड दिएका थिए ।
बिरामी, अशक्त, वृद्धवृद्धा, जनप्रतिनिधि, साहु महाजन, समाजसेवी सबैले रामेछापको विमानस्थल नियमित सञ्चालन भएमा सेवा लिने सहभागीले बताएका थिए । उचित भाडा निर्धारण गर्नुस्, जहाज चल्छ, सहभागीको समेत जिज्ञासा समेटेर जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले भनिन्, अन्य वहाना अब चल्दैन । कान्तिपुरबाट