सुनसरी। तराइका भित्री बस्तीहरुमा यातायातको पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको हुलाकी राजमार्गको पूर्वी खण्डमा पर्ने पुल निर्माणले गति लिन नसक्दा निर्माण अझै अन्योल बनेको छ । हुलाकी सडक सञ्चालनमा आए झापाको मेची पुलबाट ९२ किलोमिटरमा कोशी प्रदेशको राजधानी विराटनगर पुगिन्छ ।
तर उक्त खण्डमा निर्माणाधीन पाँचवटा पुलका निर्माण कार्य लामो समयसम्म पूरा नहुँदा यातायात सञ्चालन हुन नसकेको हो ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने कन्काई नदीको निर्माणाधीन पुल बनाउन सुरु गरिएको १२ वर्ष बितिसकेको छ । आठ वर्षअघि नै बनिसक्नुपर्ने पुलको अहिलेसम्म ७५ प्रतिशत मात्र काम भएको छ । ठेकेदारले कामदारलाई समयमै काम गरेको पैसा नदिएकाले कामदार नै काममा नआउने गरेको शिवसतासी गाउँपालिकाका स्थानीयले बताए । हुलाकी राजमार्गको मेची पुलदेखि कोशी प्रदेश राजधानी विराटनगरसम्म ९२ किलोमिटरको बीचमा कन्काई लगायत पाँचवटा पुल बन्न बाँकी छन् । यी पुलहरु लामो समयसम्म निर्माण सम्पन्न हुन नसक्दा सर्वसाधारणलाई आवतजावत गर्न कठिन भएको सडक विभागका कर्मचारी नै स्वीकार गर्छन् । बाटो निर्माण सम्पन्न भएर कालोपत्र भइसक्दा पनि पुलकै कारण सडक सञ्चालनमा आउन नसकेको हुलाकी सडक आयोजना कार्यलय इटहरीले जनाएको छ।
कार्यालयका अनुसार हुलाकी राजमार्ग अन्तर्गत मेची–रतुवा सडक खण्डमा पर्ने भुतनी खोलाको पुल निर्माण सुरु भएको सात वर्ष भइसक्दा पनि काम सकिएको छैन । ५ करोड ३० लाख ७६ हजार रुपैयाँमा लामा बाम्ती जेभी काठमाडौंले ठेक्का पाएको उक्त पुलको भौतिक प्रगति सात वर्षमा ९० प्रतिशत छ । सोही खण्डमा पर्ने बिरिङ पुलको निर्माण कार्यसमेत अन्तिम समयमा आएर रोकिएको छ । १५ करोड ५० लाख २८ हजार ६ सय रुपैयाँमा लामा मैनाचुली जेभीले ठेक्का पाएको उक्त सडक निर्माण सुरु भएको १२ वर्षमा ९५ प्रतिशत काम सम्पन्न भएको छ ।
सानो माइ खोला पुलको निर्माण कार्य पनि अझै पूरा हुन सकेको छैन । लामा बाम्ती जेभीले नै ६ करोड ७५ लाख ७३ हजार ३ सय ७० रुपैयाँमा ठेक्का पाएको उक्त सडक २०७३ सालमा निर्माण सुरु भएर २०७५ असारमा सम्पन्न भइसक्नुपर्नेमा ९० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
पप्पु महादेव जेभीले ३४ करोड ९ लाख २ हजार ४ सय ७० रुपैयाँमा ठेक्का पाएको कन्काई पुलको अवस्था पनि उस्तै छ । २०६८ सालमा निर्माण सम्झौता भएर २०७२ जेठमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको भौतिक प्रगति ७५ प्रतिशत मात्र रहेको हुलाकी सडक आयोजना कार्यलय इटहरीले जनाएको छ। लामा बाम्ती जेभीले नै ठेक्का पाएको मेची–रतुवा खण्डको लेहेरा खोला पुलसमेत अलपत्र छ । ४ करोड ६४ लाख ४१ हजार १ सय ६० रुपैयाँमा ठेक्का लागेको सो पुल २०७३ असारमा निर्माण सुरु भएर २०७५ असारमा सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म ८० प्रतिशत मात्र काम सकिएको आयोजना कार्यलयले जनाएको छ । आयोजना कार्यलयले भने पछिल्लो समय ठेकेदारले काममा तीव्रता दिएको जनाएको छ ।
हुलाकी राजमार्ग बन्न सुरु भएसँगै आफ्नो जीवनस्तरमा सुधार आउने अपेक्षा गरेका स्थानीयका लागि अलपत्र पुल बाधक बनेको छ । पुल बनेलगत्तै सडक सञ्चालनमा आउने र आफ्ना उत्पादन बजारसम्म पुग्नेमा स्थानीय आशावादी छन् । स्वास्थ्य, शिक्षा, रोजगारी र ब्यापारले स्थानीयको आर्थिक क्षेत्रको समेत विकासमा टेवा पुर्याउने पहिलो आधार सडक नै भएकाले तत्काल पुल निर्माण कार्य सक्नुपर्ने उनीहरुको भनाइ छ । कान्तिपुरबाट