काठमाडौं। सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी र धनुषा जिल्लामा प्रसारण लाइन निर्माण गर्न लागेको हो।
अरुण तेस्रो प्रसारण लाइनका लागि पाँच सय ९७ टावर निर्माण गर्न लागेको हो। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अरुण तेस्रो आयोजनाको चार सय केभी प्रसारण लाइन सङ्खुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्याइने आयोजनाले जनाएको छ । विद्युत् प्रसारण लाइन आयोजनाको विद्युत्गृहस्थल चिचिला गाउँपालिकाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्याइनेछ।
प्रसारण लाइनका लागि सङ्खुवासभा ५९, भोजपुर एक सय, खोटाङ ७९, उदयपुर एक सय ४७, सिरहा २३, महोत्तरी ८७ र धनुषामा एक सय दुई वटा टावर रहने छ । टावर निर्माणका लागि जग्गा अधिग्रहण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको बताइएको छ।
सतलज कम्पनीको कार्यालय तुम्लिङटारका अनुसार प्रसारण लाइन चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाउँ, आहाले, छ्याङकुटीहुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, खोरण्डे, पिप्ले रयले बेँसीहुँदै भोजपुर पुग्ने छ।
भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङमार्ग निर्माण धमाधम सञ्चालन भइरहेका छन् ।