काठमाडौं। निर्माण व्यवसायीले समयमै स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यू टेक्निकल जेभी ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्य चौकी भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन्।
हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । यसअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । हाल गाविसको भवनलाई भत्काएर वडा २०७५ सालदेखि मासिक चार हजारमा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो छ । बर्थिङ सेन्टरको व्यवस्थापन पक्ष कमजोर हुँदा वडामा डेलिभरी संख्या बढाउन सकिएको छैन ।
स्वास्थ्य चौकी भवन अलपत्र पार्ने ठेकेदारलाई पटकपटक भवन निर्माणको काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्र राई बताउँछन् । काम गरेका कामदारले ठेकेदारबाट हालसम्म पूरा पारिश्रमिक पाएका छैनन् । साउदी सरकारको फण्डमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मंगलटार, बतासे, राखाबांदेल र दोर्पाचिउरीडाँडा स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएको थियो ।
गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याटबाहेक सात करोड ४० लाख ८४ हजार २९६ पाँच स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्य चौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको हो । स्वास्थ्य चौकीको भाडाको कोठा पनि साँघुरो छ । कोठामा दुई वटामात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज लिलामायाँ लामिछाने बताउँछिन् ।
“सेवा प्रवाह गर्ने कोठा साँघुरो छ । एकैचोटि तीन चारजना बिरामी आए बस्ने ठाउँको व्यवस्था छैन । कोठामा दुईटा कुर्सी मात्र अट्छ । बिरामीलाई उभ्याइरहनुपर्ने अवस्था छ । सेवा दिन एकदमै गाह्रो भइरहेको छ,” लामिछानेले भनिन्, “महिला पुरुषका लागि अलगअलग कोठामा राखेर सेवा दिने ठाउँ छैन । व्यक्तिगत गोपनीयता कायम गर्न असहज हुने गरेको छ । स्वास्थ्य चौकीको भाडामा मासिक पाँच हजार खर्च हुने गरेको छ ।” गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते सम्झौता गरेको थियो ।
दुई पटक थप भएको म्याद गुज्रिदा पनि स्वास्थ्य चौकी भवन निर्माणको काम अलपत्र छ । अर्कातर्फ स्वास्थ्य चौकीको पर्खाल कमसल बनेको स्थानीय एलबी राई बताउँछन् । कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको छ । पहिलो पटक थप भएको म्याद २०७९ असार ३२ गते र दोस्रो पटक थप भएको म्याद २०७९ माघ २ गते सकिएपछि ठेकेदारले आगामी असार मसान्तसम्मका लागि म्याद थपको माग गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका इन्जिनियर सुशील चौधरीले बताए ।
ठेकेदारका प्रतिनिधिले काम गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र काम अघि बढ्ने बताउने गरेका छन् । स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टरलाई पनि स्थानीय उषा राईको घरमा राखिएको छ । स्वास्थ्य चौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टरलाई केही दूरीमा राखिएको छ । २०७५ सालदेखि मासिक चार हजारमा पाँच स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको हो । समग्रमा पाँचवटै स्वास्थ्य चौकीको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ४८ प्रतिशतमात्र भएको इन्जिनियर चौधरीले बताए । कारोबार दैनिकबाट