सप्तरी। सप्तरीको बोदेवरसाइन नगरपालिकाले पालिका कार्यालयको पर्खाल निर्माणमै १ करोड ८ लाख रुपैयाँ खर्च गरिरहेको छ । दुई पटक निर्माण गरिएको पर्खाल भत्किएपछि नगरपालिकाले तेश्रो पटकसमेत सोही वाल निर्माण गरिरहको हो ।
बोदेवरसाइन नगरपालिकाले निर्मण गरेको नयाँ प्रसासनिक भवनको चारैतर्फ २ सय २० मिटर बाउन्ड्री वालको लम्बाइ रहेको छ । त्यसमध्ये पश्चिमतर्फको ६८ मिटर बाउन्ड्री वाल निर्माण गर्न आर्थिक वर्ष ०७४/७५ मा १२ लाख ६३ हजार ८ सय ९५ रुपैयाँ ११ पैसामा पवन कन्ट्रक्सन हनुमाननगर कंकालिनी नगरपालिका २ सँग सम्झौता गरेको थियो।
सो आर्थिक वर्षमा पश्चिमतर्फको पर्खाल निर्माण भएको थियो। यस्तै पूर्व, उत्तर र दक्षिणतर्फको पर्खाल निर्माणका लागि दोश्रो पटक आर्थिक वर्ष ०७५/७६ मा सोही कन्ट्रक्सनसँग १९ लाख ४१ हजार ४ सय ९६ रुपैयाँ ४६ पैसामा सम्झौता गरी कार्य समपन्न भएको थियो।
लाखौं रकम लगाएर निर्माण गरिएको उक्त बाउन्ड्री वाल ०७८ साल भदौमा वर्षा हुँदा पश्चिमतर्फ भत्किएपछि नगरपालिकाले कमजोर संरचना रहेको भन्दै चारतिरको पर्खाल आफैंले भत्काएको थियो । भत्काएपछि फेरि आर्थिक वर्ष ०७९र८० मा बाउन्ड्री वाल, गेट, पार्किङ सेडसमेत गरी टेण्डर गर्दा ७६ लाख १६ हजार ४ सय ६० रुपैयाँ ३० पैसामा आरसी निस्था कन्ट्रक्सन एण्ड सप्लायर्स लालबन्दी ७ सर्लाहीसँग २०७९ पुस २२ गते सम्झौता गरेको थियो ।
उक्त सम्झौता अनुसारको काम हाल निर्माणाधीन छ । तीनै पटकमा गरी बाउन्ड्री वाल, गेट र पार्किङ सेडमा गरी नगरपालिकाले १ करोड ८ लाख २१ हजार ८ सय ५१ रुपैयाँ ८७ पैसा खर्च गरिरहेको हो ।
पहिलो र दोश्रो पटक निर्माण गर्दा गुणस्तरीय काम हुन नसकेकोले पर्खाल भत्किएपछि पुन तेश्रो पटक निर्माण गर्न लागिएको हो । बोदेवरसाइन नगरपालिकाका इन्जिनयर दिनेश ठाकुरका अनुसार पहिलो र दोश्रो पटक निर्माण गर्दा प्राविधिक रुपले समग्र वस्तुस्थितिको मूल्यांकन गर्न नसकिएकाले पर्खाल वर्षामा भत्किएको हो । पहिलो र दोश्रो पटक निर्माण भएको गुणस्तरहिन बाउन्ड्री वाल निर्माणमा नगरपालिकाका तर्फबाट अरबिन्द यादव इन्जिनियर थिए ।
पालिकाका आम नागरिकहरू आधारभूत सुविधाबाटै वञ्चित रहेका बेला कार्यालयको बाउन्ड्री वाल निर्माण गर्ने, भत्काउने र फेरि निर्माण गर्ने कार्यमा बजेट खर्चिनुले विकासीय रकम दुरुपयोग भइरहेको स्थानीय अगुवाहरू बताउँछन् । बोदेवरसाइन नगरपालिकाले नै चालु आर्थिक वर्षमा कार्यालयको फर्निचरका लागि ८४ लाख रुपैयाँ खर्च गरेको छ। कान्तिपुरबाट