पूर्वी नवलपरासी। कावासोती नगरपालिकाको हसौरा र अठाइस विगाह क्षेत्र जोड्ने पक्की पुल निर्माणको जिम्मा लिएर काम अलपत्र पार्दै सम्पर्कविहीन बनेका ठेकेदारले जेठ २१ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पुल निर्माणको ठेक्का पाएका चितवनका एडभेन्चर कन्सट्रक्सन प्रालिका संचालक ठेकेदार कमल भट्ट बिहीबार प्रमुख जिल्ला अधिकारीको कार्यालयमा उपस्थित भएर उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । ठेकेदार खोज्न प्रजिअलाई मेयरको पत्र शीर्षकको समाचार इकान्तिपुरमा गत बुधबार प्रकाशन भएको थियो । त्यसपछि ठेकेदार सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी दिए ।
२०७७ असार मसान्तमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएपछि कावासोती नगरपालिकाका मेयर विष्णु भुसालले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर ठेकेदार खोजी गरिदिन पत्राचार गरेका थिए । ठेकेदार भट्टले हस्ताक्षर गरेको बिहीबारको सम्झौता अनुसार जेठ २१ गते काम सम्पन्न नगरे ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने ब्यहोरा उल्लेख छ ।
२०७७ असार मसान्तमा काम सम्पन्न गर्नुपर्ने पुल निर्माण थालेर उनी सम्पर्कविहीन भएका थिए । पुल हेर्ने सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र मर्हजनले पुलको काम सक्न पटकपटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमै नआएको बताए । पछिल्लो पटक गत असोजमा पुल निर्माणको म्याद थप्न सफल भएका ठेकेदार भट्ट म्याद थपेपछि फेरि सम्पर्कविहीन भएका थिए ।
जवकि त्यसअघि नै पुल निर्माणको म्याद दुई पटक थपिसकिएको थियो । कावासोती नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लोहनीले भने काम थालेको ४ वर्षसम्म निर्माण सम्पन्न नहुँदा रडहरूमा खिया लागेर कमसल बनिसकेको बताएका छन् । साथै ठेकेदारले कमसल सिमेन्ट प्रयोग गरेको उनले दाबी गरे । यसबारे छानबिन गर्नुपर्ने पनि वडाध्यक्ष लोहनीको माग छ ।
खोलाको सतह बढ्दा पुल छुन्छ
निर्माणाधीन पुल कमसल रहेको भन्दै जनप्रतिनिधि र स्थानीय अगुवाहरूले आपत्ति जनाउँदै आएका छन् । वर्षामा केरुंगे खोलाको पानीको सतह बढेर पुललाई नै छुने गरेको उनीहरूले बताएका छन् ।
वडाध्यक्ष लोहनीका अनुसार साढे १० करोड लागतमा सुरु गरिएको यो पुलको स्ल्याबको तल्लो भाग र खोलाको सतह ३ फिट दूरी मात्र छ । लोहनीले पुल निर्माणमा लापर्बाही भएको बताएका छन् । साथै पुलका इन्जिनियरले पनि गलत डिजाइन गरेको भन्दै उनीमाथि पनि कारबाही गर्नुपर्ने स्थानीय अगुवाहरूले बताएका छन् । कान्तिपुरबाट